काठमाण्डौ ।
पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भए पछि उनी नेतृत्वको सरकार ढलेको छ ।सत्तासाझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्ता गठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए।
प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे। एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए।
प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिए ।
संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनबाट तेस्रो दल बनेको एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। पाँचौं पटक विश्वासको मत लिने क्रममा उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो । अब नयाँ सरकार गठनको बाटो खुलेको छ ।