आज उभौली पर्व

पर्वत।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ ।

गर्मी बढ्ने भएकाले मानिसहरु बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मङसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । विशेष गरी यो पर्व किरात समुदायमा बढी प्रचलित छ। किराँत समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।

किराँत समुदायको बाहुल्यता भएको देशका पूर्वी जिल्लाहरु र काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् ।साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *