पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत बीबीए आठौँ सेमेस्टरका विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्।
कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरू छ समूहमा विभाजित भई विभिन्न समसामयिक विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले फ्लाई दुबईले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको तथा पोखरा उद्योग वाणिज्य सङ्घले रोजगार मेला सञ्चालन गरेको विषयमा पत्रकार सम्मेलनको अभ्यास गरेका थिए।
त्यसैगरी, पसल डटकमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनद्वारा विद्युतीय गाडी आयातसम्बन्धी विवाद तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको विषयवस्तुमा समेत विभिन्न भूमिका निर्वाह गर्दै विद्यार्थीहरूले प्रस्तुति दिएका थिए।
बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित उक्त कार्यक्रमले सञ्चारमाध्यमसँग समन्वय गर्ने व्यावहारिक सीप विकासमा सहयोग पुगेको कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले बताउनुभयो।
विषय शिक्षक सुवास मल्लका अनुसार कार्यक्रममार्फत विद्यार्थीहरूले सञ्चारमाध्यमसँग सम्बन्ध स्थापित गर्ने, पत्रकार सम्मेलन सञ्चालन गर्ने तथा प्रेस विज्ञप्ति तयार गर्ने सीप हासिल गरेका छन्।
कार्यक्रममा वरिष्ठ पत्रकार भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुतीकरणमाथि टिप्पणी तथा मूल्याङ्कन गर्नुभएको थियो। लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकारहरूबाट प्रत्यक्ष सुझाव र पृष्ठपोषण प्राप्त गर्दा व्यावहारिक सिकाइको अवसर मिलेको सहभागी विद्यार्थी शोयम शर्माले बताउनुभयो।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन सङ्कायअन्तर्गत अध्ययन अध्यापन सञ्चालन गर्दै आएको छ। हाल कलेजमा दिवा तथा बिहान सत्रमा बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रमअन्तर्गत ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।