पर्वत ।
चैत्राष्टमीको अवसरमा बाग्लुङ कालिका मन्दिर परिसरमा भक्तजनहरूको ठूलो भीड लागेको छ । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङमा शनिबार श्रद्वालु भक्तजनको घुइँचो लागेको हो । चैत्राष्टमीको दिन मन्दिरमा पूजा गर्ने भक्तजनहरु देशका विभिन्न स्थानबाट बिहानैदेखि आएका छन् ।
मनमोहक जङ्गलको बिचमा अवस्थित कालिका मन्दिरमा प्रत्येक वर्ष बडा दसैँ र चैते दसैँको अवसरमा विशेष पूजा अर्चना हुने गर्दछ । मन्दिरमा पूजा गर्ने भक्तजनहरु बिहानैदेखि लाइनमा बसेका छन् । कालिका भगवती मन्दिरमा आएर पूजा गर्दा मनले चिताएको पूरा हुने विश्वास रही आएको छ ।
१५ औँ शताब्दीको बास्तुकलात्मक महत्त्व एवम् धार्मिक आस्था बोकेको कालिका भगवती मन्दिरको महिमा पछिल्ला वर्षहरूमा अझै बढ्दै गएको छ । मन्दिरमा पूजा अर्चना गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । यसबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने गरेको कालिका भगवती गुठी व्यस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैत्राष्टमीमा कालिका मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीहरुका लागि सहज व्यवस्थापन गरिएको खडकाले उहाँले बताउनुभयो ।
विशेष गरी नवदुर्गाका साथै शनिबार, मङ्गलबारसमेत यस मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरु आउने गर्दछन् । यस वर्षको चैत्राष्टमीको अवसरमा झन्डै पाँच लाख भक्तजनले मन्दिरमा पूजा गर्ने गरी आवश्यक तयारी गरिएको छ ।