पर्बतका सत्र परीक्षा केन्द्रबाट दुई हजार अठ्ठाइस परीक्षार्थी एसइइमा सहभागी हुँदै

पर्वत ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा पर्वत जिल्लाबाट दुई हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका  छन्।

शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलका अनुसार जिल्लाका सात वटा स्थानीय तहमा रहेका विभिन्न १७ वटा विद्यालयहरूबाट दुई हजार २८ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन्। जसमा साधारणतर्फ एक हजार नौ सय ४० जना, आंशिकतर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना रहेका छन्।

परीक्षाका लागि जलजला गाउँपालिकामा दुई वटा, कुश्मा नगरपालिकामा पाँच वटा, मोदी गाउँपालिकामा एक वटा, फलेवास नगरपालिकामा तीन वटा, महाशिला गाउँपालिकामा दुई वटा, पैयुँ गाउँपालिकामा दुई वटा र बिहादी गाउँपालिकामा दुई वटा परीक्षा केन्द्रहरू तोकिएका छन्। जलजलाका विद्याज्योति मा.वि. केन्द्रबाट ९० जनाले, ग्रामप्रकाश मा.वि. केन्द्रबाट ७१ जनाले, कुश्माको हिमालय मा.वि.बाट ९८ जनाले, नारायण मा.वि.बाट एक सय ८३ जनाले, शिवालय मा.वि. (क) बाट दुई ३३ जनाले, शिवालय मा.वि. (ख) बाट एक सय ४८ जनाले, जनता सुदर्शन मा.वि. बाट ७४ जनाले परीक्षा दिँदै छन्।

यस्तै मोदी गाउँपालिकाको नवजागृत क्याम्पसबाट दुई सय ७९ जनाले, फलेवास नगरपालिकाको अन्नपूर्ण मा.वि.बाट एक सय २० जनाले, भवानी विद्यापीठ मा.वि.बाट ६९ जनाले, जनता मा.वि.बाट एक सय १५ जनाले, महाशिला गाउँपालिकाको महेन्द्रज्योति मा.वि.बाट ७४ जनाले, बालारानी मा.वि.बाट ६५ जनाले, पैयुँको जनसेवा संस्कृत मा.वि.बाट एक सय २८ जनाले, निर्मल जनसेवा मा.वि.बाट एक सय चार जनाले तथा बिहादी गाउँपालिकाको वाहाकी मा.वि.बाट एक सय चार जनाले र शालिग्राम मा.वि.बाट एक सय १० जनाले परीक्षा दिन लागेका हुन्।

प्राविधिकतर्फ फलेवासको माटेदेवल जनसहयोगी व्यावसायिक मा.वि.बाट २१ जना, मोदी गाउँपालिकाको तिलाहारमा रहेको नवजागृत मा.वि.बाट १३ जना र कुश्मा नगरपालिकाको पकुवामा रहेको विश्वज्योति मा.वि.बाट ६ जना प्राविधिक धारतर्फको परीक्षामा सहभागी हुन लागेका छन्।

यस वर्षको परीक्षा यही चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुँदै छ। यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन्। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ। ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने छ।

३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्ने भनिएको छ। ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन्। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *