काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गर्दै नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग आज सिंहदरबारमा सामूहिक भेट तथा संवाद गर्नुभएको छ। भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य (दक्षिण कोरिया), बेलायत (युनाइटेड किङ्डम), कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका (अमेरिका) र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरू सहभागी रहेका थिए।
सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेट्ने पुरानो प्रचलनलाई तोड्दै प्रधानमन्त्री शाहले सबैलाई एकैसाथ भेट्ने अभ्यास सुरु गर्नुभएको हो। यसलाई कूटनीतिक संवादलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ। भेटमा सहभागी राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले नेपाल सरकारका विकास र जनहितका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा जोड दिँदै छिमेकी, मित्र राष्ट्र तथा विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो। यो सामूहिक भेटले समयको बचतसँगै सबै देशप्रति समान व्यवहार गर्ने सरकारको स्पष्ट सन्देश दिएको छ। व्यक्तिगत भेटघाटभन्दा सामूहिक र खुला संवादलाई प्राथमिकता दिँदै बालेन नेतृत्वको सरकारले कूटनीतिमा नयाँ शैली अपनाएको संकेत गरेको छ।