लेस्पारमा खानेपानी आयोजनाको उद्घाटनसंगै एक घर एक धारा विस्तार

पर्वत ।

जिल्लाको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेस्पारमा एक घर एक धारा विस्तार भएको छ । लेस्पार खानेपानी आयोजनाको मंगलबार कादुरी च्यारिटेबल फाउण्डेसन, हङकङका पिटर पाउल डि ग्रुटे र मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।

कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो ।दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेस्पारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको बताईएको छ।

खानेपानी योजना रु एक करोड ३६ लाख ५८ हजार पाँच सय ६० को लागतमा सम्पन्न भएको हो । जसमध्ये रु १९ लाख ७१ हजार नौ सय बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत रु एक करोड १६ लाख ८६ हजार छ सय ६० खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिनुभयो ।

आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुई वटा इन्टेक टङ्की, दुईवटा फिल्टर टङ्की, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टङ्की निर्माण गरिएको छ । बस्तीभन्दा माथि रहेको जङ्गलका लाटा खर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ । कूल छ हजार सात सय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिनुभयो ।

घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पुनले बताउनुभयो । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएका छन् । वर्षौदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उहाँले बताउनुभयो ।

कादुरी च्यारिटेबल फाउण्डेसन, हङकङका डाईरेक्टर कर्नेल एन्ड्रियू मिल्ज, कादुरी एग्रीकल्चरल एड एशोसिएशन, नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङ,मोदी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी,शिक्षा अधिकृत दिनेश शर्मा,कार्यपालिका सदस्य लक्ष्मी बिक,बाल कल्याण अधिकारी याम बहादुर मेधासी, पत्रकार लगायत स्थानीयहरुको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *