पर्वत ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका को उत्तरी भेगमा भएको ठुलो वर्षापछि गएको पहिरोले मोदी खोलामा ठुलो बाढी आएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा भएको अविरल वर्षापछि आएको भीषण बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीसँगै मोदी खोलामा समेत पानीको बहाव अत्यधिक बढेपछि पर्वतसहित तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय पर्वतले आग्रह गरेको छ । प्रहरीका अनुसार किम्रुङखोलामा आएको ठुलो बाढी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढिरहेको छ । बाढीका कारण किम्रुङखोलाको झोलुङ्गे पुल बगाएको छ भने स्याउली बजारमा रहेको एउटा रेस्टुरेन्ट मा समेत क्षति पुर्याएको छ । बाढीले घान्द्रुक जाने पक्की सडक बगाएको छ । सो सडक पूर्ण रूपले बन्द भएको छ । अन्य भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले जरुरी सूचना जारी गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने मोदी खोलामा पानीको बहाव अझै बढ्न सक्ने प्रबल सम्भावना रहेको जनाएको छ । यस क्षेत्रमा अझै वर्षा हुने सम्भावना रहेकाले नदी किनार आसपास बसोबास गर्ने, खेतीपाती तथा व्यवसाय सञ्चालन गर्ने र आवतजावत गर्ने सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । प्रहरीले विशेष गरी मोदी खोला किनारमा अनावश्यक रूपमा नजान, नदी पार गर्ने प्रयास नगर्न तथा जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।
स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायले नदीको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताएका छन् । बाढीको जोखिम बढ्दै गएको अवस्थामा स्थानीयवासीलाई अफवाहमा नलागी आधिकारिक सूचनाको पालना गर्न तथा कुनै आपत्कालीन अवस्था देखिए नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि जिल्ला प्रहरी कार्यालय पर्वतले अनुरोध गरेको छ ।