पोखरा ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् । घाइते दुवै जना हेलिकप्टरमा काठमाण्डौ लागिएको छ । घाइतेलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको अस्पतालले जानकारी दिएको छ ।
किर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् । अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार दुवै जनाको अनुहारमा ५–६ प्रतिशत जलेकाले श्वासनली र फोक्सोमा असर गर्ने हुँदा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको औँल्याइएकाे हाे । अहिले उनीहरुलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।