काठमाण्डौ ।
घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । सन् १९८६ मा पछिल्लो पटक विश्वकप आयोजक बन्दा क्वार्टरफाइनल पुगेको मेक्सिको पहिलो खेलमा विजय हात पारेपछि त्यही गन्त्वयतर्फ लम्केको छ । एजटेका रंगशालामा ८० हजार भन्दा बढी दर्शक सामु मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । उनले मेक्सिकोलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए ।
दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो र इरिक लिराले दिएको पासमा क्विनोनेजले दक्षिण अफ्रिकी गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए ।