रसुवामा अचानक ठूलो बाढी
रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आकस्मिक बाढी आएको छ। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको हो । बाढीका कारण भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाढीले स्याप्रुबेसीलगायतका बजार क्षेत्रमा क्षति पुर्याएको छ । केही समय आएको बाढीले बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति गरेको प्रारम्भिक विवरण आएको छ ।
बाढी पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार रसुवामै पानी परेका कारण बाढी आएको देखिएको छैन ।
बाढी पूर्वानुमान महाशाखाले दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र आसपासका जिल्लाका नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको बताएको छ । घटनापछि स्थानीयस्तरमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ। बाढीबाट मानवीय तथा भौतिक क्षति के–कति भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ।
टिमुरेमा सशस्त्र प्रहरीका ९ कर्मचारी सम्पर्कविहीन
रसुवाको टिमुरेमा खटिएका सशस्त्र प्रहरीका ९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । तिब्बततर्फबाट बुधबार बिहान करिब ९ बजे आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएका हुन् । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले त्यहाँ खटिएका कर्मचारी सम्पर्कमा नआएको पुष्टि गरे । उनले भने, कतै सुरक्षित ठाउँमा जानु भएको पनि हुनसक्छ । तर, अहिलेसम्म सम्पर्क हुन सकेको छैन । उनीहरुको खोजीका लागि प्रयास भइरहेको उनले बताए । भीषण बाढीले टिमुरे बजारमा पूरै क्षति पुर्याएको छ ।