पञ्चासे राष्ट्रिय निकुञ्जको अबधारणा

पञ्चासे राष्ट्रिय निकुञ्जको अबधारणा

पशुपति अधिकारी

१.० परिचय : पोखराबाट २७ किलोमिटर पश्चिममा रहेको पञ्चासे कास्की, स्याङ्जा र पर्बत जिल्लाको सिमानामा अबस्थित छ । यस भित्र कास्की जिल्लाका पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका, स्याङ्जा जिल्लाका आँधिखोला तथा फेदीखोला गाउँपालिका र पर्बत जिल्लाका मोदी गाउँपालिका र कुश्मा नगरपालिका गरी छ वटा स्थानीय तह रहेका पर्दछन ।   यो नेपालको सर्बाधिक पानी पर्ने ठाउँ मध्ये एक हो । समुन्द्रि सतहबाट ९०० मिटरदेखि २,५१७ मिटरको उचाईमा रहेको यस स्थानमा हिउँदको समयमा हिँउ पर्ने गर्दछ । हर्पनखोला, आँधिखोला र रतिखोलाको मुहान यसै पहाडमा रहेका छन । पञ्चासेमा वनले ओगटेको क्षेत्रफल ५७.७५ वर्ग किलोमिटर रहेको छ । यहाँ चिलाउने–कटुस, खर्स्रु, फँलाट, खोटेसल्ला र उत्तिसको गरी पाँच प्रकारका वन रहेका छन । यहाँको वनमा ६१३ प्रजातिका वनस्पति रेकर्ड गरिएको छ ।   ती मध्ये १४२ प्रजातिका सुनाखरी, १०७ प्रजातिका जडिबुटी, ९८ प्रजातिका उन्यु र ५६ प्रजातिका च्याउ रहेका छन । यहाँ पाईने मुख्य वन्यजन्तुहरु चितुवा, हिमाली कालोभालु, रतुवामृग, वनविरालो, मलसाप्रो र वाँदर हुन । यहाँ कालिज लगायतका चराचुरुङगी पाईन्छन । पञ्चासे आसपासका गाउँघरमा गुरुङ्ग, बाहुन, क्षेत्री र बिश्वकर्माको बसोबास रहेको छ । तर अहिले बसाईसराईका कारण यी गाउँहरु रित्तिदै गएका छन ।   पञ्चासेका धार्मिक, सास्कृतिक र पर्यटकिय महत्व निम्न रहेका छन ।   क) धार्मिक, सास्कृतिक महत्व : पञ्चासेको टुप्पोमा करिव ५ किलोमिटरको दुरीमा ताल र सिद्धबाबाको थान रहेका छन । सिद्धबाबाको थानलाई शिब मन्दिर पनि भन्ने गरिन्छ । यी दुई धार्मिक स्थलको बिचमा लस्करै पाँच वटा पहाडका टाकुरा छन । बालाचुर्तदशिका दिन यीनै पहाडको खोचमा रहेको ताल र टुप्पोमा रहेको शिब मन्दिर वरिपरी सदबिज छर्ने गरिन्छ । यहाँ सतिदेबीका हातका पञ्जा पतन भएको ठाउँ हुनाले सदबिज छर्ने गरिएको हो भन्ने धार्मिक मान्यता रहेको छ । यो ठाउँको नाम पञ्चासे नामाकरण हुनुमा यीनै दुई धार्मिक मत रहेका छन । यहाँ रहेको पोखरीमा च्वबन ऋषिले स्नान गरी शारिरीक तन्दुरुष्टि हासिल गरेका थिए भन्ने भनाई समेत पाईन्छ । पञ्चासेको धुरीमा रहेको सिद्धगुफा पौराणिककालदेखि नै ऋषि, महर्षि र साधुसन्तहरुले तप, ध्यान गर्ने स्थल हो । यहाँ द्धापर युगमा पाँच पाण्डबहरु आएर तपस्या गरेका थिए भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ भनि स्थानीयहरुले बताएका छन । पञ्चासे राजा दशरथ र श्रबणकुमारको कथासँग जोडिएको ठाउँ समेत हो । राजा दशरथ यहाँ शिकार यहाँ खेल्न आएको समयमा श्रबणकुमारले पानी भर्न घैटोलाई कुँवामा डुवाउदा निस्केको आबाज मृगको हो भनि झुक्किएर राजाले त्यसै दिशातिर बाँण हान्दा श्रबणकुमारलाई लागेर उनको मृत्यु भयो भन्ने पौराणिक कथा छ । श्रबणकुमारका बाबु आमा दुबै अन्धा थिए र छोरोको मृत्युको खबर थाहा पाएपछि पुत्रशोकमा परेका उनिहरु दुबै जना रुदारुदै देह त्याग गरे । तिनै अन्धाअन्धिको आँसुबाट आँधिखोलाको उत्पति भएको हो भन्ने पौराणिक कथामा उल्लेख छ ।   ख) पर्यटक संख्या : पञ्चासे कास्कीको भन्ज्याङ्ग र भदौरे देउराली, स्याङ्जाको बाङ्गसिङ्ग र पर्बतको राम्जाबाट सडक सञ्जालले जोडिएको छ । यहाँ चार ठाउँबाट पर्यटक प्रबेश गर्ने भए पनि पर्यटकको रेकर्ड राख्ने र प्रबेश दस्तुर लिने गरेको पाईदैन । यहाँ बालाचर्तुदशिका दिन झण्डै १०,००० मानिसहरु सद्बिज छर्न आउने गर्दछन । धार्मिक पर्यटक बाहेक यहाँ बर्षेनी १०,००० देखि १२,००० बिदेशि पर्यटक र १५,००० देखि २०,००० आन्तरिक पर्यटक घुम्न आउने गरेको डिभिजन वन कार्यालय, कास्कीका कर्मचारी खेमराज पौडेलको भनाई रहेको छ । यहाँ प्रबेश गर्ने पर्यटकबाट प्रबेश शुल्क लिने ब्यबस्था गरेमा बर्षेनी करिव ३ करोड राजश्व संकलन हुन सक्छ । तर ब्यबस्थापकिय कमजोरीले गर्दा पर्यटक प्रबेश शुल्क लिने गरिएको छैन । २.० ब्यबस्थापनको मोडल र भएका कामहरु : नेपाल सरकारले पञ्चासेको ५७.७५ वर्ग कि.मि. वन क्षेत्रमा रहेको जैविक बिबिधताको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बि.सं. २०६८ साल फागुन १५ गते पञ्चासे संरक्षित वन घोषणा गरेको छ । देश संघीय संरचनामा गएसँगै लागु गरिएको वन ऐन २०७६ ले संरक्षित वनको नाम परिवर्तन गरी पञ्चासे वन संरक्षण क्षेत्र राखेको छ । यो वन कास्की, स्याङ्जा र पर्वत गरी ३ वटा डिभिजन वन कार्यालयको कार्य क्षेत्र क्षेत्र भित्र पर्दछ । यस मध्ये कास्की जिल्लामा २२.९८ वर्ग कि.मि., स्याङ्जा जिल्लामा २०.३४ वर्ग कि.मि. र पर्वत जिल्लामा १४.४३ वर्ग कि.मि.पर्दछ । यो वन ४२.१५ वर्ग कि.मि. (७३ प्रतिशत) वन सामुदायिक वनको रुपमा र १५.६ वर्ग कि.मि (२७ प्रतिशत) वन राष्ट्रिय वनको रुपमा ब्यबस्थापन गरिएको छ । यहाँ रहेका १०८ वटा सामुदायिक वन मध्ये ४४ वटा समुह कास्की जिल्लामा, ३५ वटा समुह स्याङ्जा जिल्लामा र २९ वटा समुह पर्वत जिल्लामा पर्दछन । यो वनको समग्र ब्यबस्थापनको लागि दश बर्षे कार्ययोजना बनाई वन मन्त्रालयले स्वीकृत प्रदान गरेपछि योजनाले तोके बमोजिमका कामहरु गर्नु पर्ने कानूनी ब्यबस्था रहेको छ । यो वन तीन वटा डिभिजन वन कार्यालयको कार्य क्षेत्र क्षेत्र भित्र पर्ने हुँदा समन्वयको काम गण्डकी प्रदेश वन निर्देशनालयले गरेको छ । पञ्चासे वन संरक्षण क्षेत्र भित्र ढुङ्गा छापेको करिव २० किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । साथै सुनाखरीका प्रजातिलाई चिनाउन अङ्ग्रेजी, नेपाली र वानस्पातिक नाम सहितका सूचना वोर्डहरु टाँसिएका छन ।   ३.० ब्यबस्थापकीय कमजोरीहरु : पञ्चासेलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाएर संघको अधिकार क्षेत्र भित्र लैजान नदिने उद्देश्यले मात्र वन संरक्षण क्षेत्र वनाएर अल्झाएर राखेको पाईएको छ ।  डिभिजन वन कार्यालयहरुको संगठन संरचना र संस्थागत क्षमतालाई कुनै ध्यान नदिई वन संरक्षण क्षेत्र वनाइएको छ । पञ्चासे जस्तो एउटै चक्लामा रहेको वनलाई एउटै कार्यालय मार्फत ब्यबस्थापन गर्नु पर्नेमा राजनितिक सिमानाका आधारमा तीन वटा कार्यालयको कार्य क्षेत्र भित्र राखिएको छ । त्यसले गर्दा पनि वन कार्यालयहरुको त्यहाँ कमजोर उपस्थिति रहेको छ । यो वनलाई काठ, दाउरा र जडिबुटीको ब्यबसायिक रुपमा उत्पादन गर्ने भन्दा पनि पर्यटन प्रबद्र्धन गर्ने दृष्टिकोणले ब्यबस्थापन गर्न उर्पयुक्त हुने देखिन्छ । पञ्चासे जस्तो प्राकृतिक वातावरण कायम रहेको चक्ला वनलाई पोखराको प्रमुख पर्यटकिय बस्तुको रुपमा ब्रान्डिङ्ग गर्नु पर्नेमा सो सोचको बिकास भएको पाईदैन । यहाँ आउने पर्यटकको वन भित्र सुरक्षाको प्रत्याभुति नभएको भन्ने गुनासो रहेको छ । पोखराको पर्यटन उद्योगलाई बिस्तार गर्न पञ्चासेमा पर्यटन प्रबद्र्धनका कामहरु गर्न अति आबश्यक छ । तसर्थ, अहिले ब्यबस्थापन गर्दै आएको वन संरक्षण क्षेत्रको मोडल भन्दा पञ्चासेलाई छुट्टै बैकल्पिक मोडलबाट ब्यबस्थापन गर्न त्यस्ता मोडलहरुको खाजि गर्नु पर्दछ ।   ४.० बैकल्पिक मोडलहरु : पञ्चासेलाई अहिलेको वन संरक्षण क्षेत्रको मोडल भन्दा निम्न मोडलबाट ब्यबस्थापन गरेमा पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने हुन्छ ।   क) राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने : पञ्चासे वन संरक्षण क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गरेमा यो ठाउँलाई काठमाण्डौको शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज जस्तै पर्यटकीय गन्तब्यस्थल वनाउन सकिन्छ । पञ्चासेको राष्ट्रिय वन क्षेत्रलाई राष्ट्रिय निकुञ्ज भित्र समाबेश गरी सामुदायिक वनहरुलाई मध्यबर्ती सामुदायिक वनको रुपमा ब्यबस्थापन गर्न सकिन्छ । यसो गर्दा राष्ट्रिय निकुञ्ज वनाउन क्षेत्रफल अत्यन्तै थोरै भयो भनि प्रश्नं समेत उठ्न सक्छ । यस्तो अबस्थामा वन उपभोक्ता समुहको सहमति प्राप्त गरी सामुदायिक वनको केही भागलाई समेत राष्ट्रिय निकुञ्जमा समाबेश गर्न सकिन्छ । पञ्चासेलाई राष्ट्रिय निकुञ्जको रुपमा ब्यबस्थापन गर्नु पर्दा अहिले तीन जिल्लामा फैलिएको वनलाई एउटा छुट्टै कार्यालय स्थापना गरेर ब्यबस्थापन गर्न सकिन्छ र त्यहाँको सुरक्षा नेपाली सेनावाट हुने गर्दछ ।    ख) संरक्षण क्षेत्रमा स्तरोन्नति गर्ने :  पञ्चासे वन संरक्षण क्षेत्रलाई राष्ट्रिय निकुञ्ज नबनाई निकुञ्ज ऐन बमोजिम संरक्षण क्षेत्रमा स्तरोन्नति गर्न पनि सकिन्छ । यस ऐन बमोजिम संरक्षण क्षेत्र ब्यबस्थापन गर्ने तीन मोडल रहेका छन र ति मध्ये कुनै एक मोडलबाट पञ्चासेलाई ब्यबस्थापन गर्न सकिन्छ । पहिलो मोडल नेपाल सरकारले ब्यबस्थापन गर्ने हो । यो मोडल अनुसार कृष्णसार (बर्दिया) र अपिनाम्पा (दार्चुला) संरक्षण क्षेत्र ब्यबस्थापन गरिएको छ । दोश्रो मोडल गैह्र सरकारी संस्था मार्फत ब्यबस्थापन गर्ने हो । अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्र राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत ब्यबस्थापन गरिएको छ । तेश्रो मोडल स्थानीय समुदाय मार्फत ब्यबस्थापन गर्ने हो । यो मोडल अनुसार कन्चङजङघा संरक्षण क्षेत्र ब्यबस्थापन गरिएको छ ।   ५.० राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाउने आधारहरु : वन्यजन्तु, वनस्पतिको बासस्थानको दृष्टिकोणले महत्वपूर्ण ठाउँ, प्राकृतिक सौर्न्दयका दृष्टिकोणबाट बिशेष महत्व राख्ने ठाउँ, जलाधार क्षेत्र ब्यबस्थापनका दृष्टिकोणले महत्वपूर्ण ठाउँ वा धार्मिक, सास्कृतिक दृष्टिकोणले महत्वपूर्ण ठाउँलाई राष्ट्रिय निकुञ्जको रुपमा ब्यबस्थापन गर्ने अर्न्तराष्ट्रिय प्रचलन रहेको छ । पञ्चासेले उपरोक्त मापदण्डहरु पुरा गर्न सक्ने देखिन्छ । त्यसका आधारहरु निम्न रहेका छन ।   क) पञ्चासेको वनमा १४२ प्रजातिका सुनाखरी (अर्किड) अभिलेख गरिएको छ । सानो क्षेत्रफलमा यति धेरै प्रजातिका सुनगाभा नेपालमा अन्यत्र अभिलेख गरिएको छैन । त्यसैले पञ्चासेलाई सुनगाभाको राजधानी पनि भन्ने गरिन्छ । यस्तो वनलाई दीर्घकाल सम्म जोगाई राख्न राष्ट्रिय निकुञ्ज वनाउन उर्पयुक्त हुन्छ ।  ख) पञ्चासे हर्पनखोला, आँधिखोला र रतिखोलाको मुहान हो । पञ्चासेको पुर्बतर्फको पानीढलो फेवातालको जलाधार क्षेत्र हो । यस्तो वाटर टावर (Water Tower) बाट उत्पादित पानीमा यस क्षेत्रका झण्डै एक लाख मानिस खानेपानी र सिचाईको लागि आश्रित छन । जलवायु परिवर्तनको असरबाट यस्तो पानीका श्रोतको संरक्षण गर्न यो ठाउँलाई राष्ट्रिय निकुञ्जको रुपमा ब्यबस्थापन गर्न उर्पयुक्त हुन्छ ।   ग) नेपालका संरक्षित क्षेत्र भित्र मध्यपहाडका पारिस्थितिकीय प्रणाली (इकोसिष्टम) हरुको उचित प्रतिनिधित्व हुन सकेको छैन । त्यसैले संरक्षित क्षेत्र भित्र मध्यपहाडका इकोसिष्टमको प्रतिनिधित्व बढाउन पञ्चासे जस्तो पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँलाई राष्ट्रिय निकुञ्ज वनाएमा दुबै लाभ लिन सकिन्छ । घ) पञ्चासे यातयातको पहुँच भएको सुगम क्षेत्र हो । यसका वरिपरी पोखरा, कुश्मा, वागलुङ्ग, वेनी र पुतली वजार रहेका छन । यस्तो ठाउँमा कायम रहेको प्राकृतिक वातावरण (Natural Environment) मा शहरी जनसंख्यालाई आमोदप्रमोद प्रदान गर्ने स्थलको रुपमा बिकास गर्न सकिन्छ । पञ्चासेबाट अन्नपूर्ण हिमश्रृङखलाका साथै पोखरा उपत्यका, कुस्मा, वाग्लुङ्ग, वेनी र पुतली वजारको रमणीय दृश्य देख्न सकिन्छ ।   ङ) पञ्चासे पबित्र धार्मिक स्थल हो । यो ठाउँ पौराणिककालदेखि नै तपोभूमि रहेको थाहा लागेको छ । यहाँ ऋर्षि, महर्षि र साधुसन्तहरुको ध्यान गरेर बसेको थाहा लागेको छ । त्यसैले यस्तो ठाउँको धार्मिक महत्वमा आँच नपुग्ने गरी अर्न्तराष्ट्रिय स्तरको ध्यान तथा योग केन्द्र वनाएर विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।    च) नेपाल जैविक विविधता महासन्धिको पक्षधर राष्ट्र हो । त्यसैले नेपालले वन, वन्यजन्तु संरक्षण सम्बन्धि अर्न्तराष्ट्रिय दायित्व समेत पुरा गर्नु पर्ने हुन्छ । जैबिक विविधता महासन्धि अर्न्तगतको कुन्मिन मन्ट्रियल बायोडाइभरसिटी फ्रेमवर्कले पृथ्वीमा जैबिक विविधताको संरक्षण र जलवायु परिवर्तनका असरवाट पृथ्वीलाई वचाउन सन् २०३० सम्ममा संरक्षित क्षेत्रको क्षेत्रफल ३० प्रतिशत पुर्याउनु पर्ने लक्ष्य तय गरेको छ । नेपालले समेत सन् २०३० सम्ममा संरक्षित क्षेत्रको क्षेत्रफल २३ प्रतिशतबाट वढाएर ३० प्रतिशत पुर्याउनु पर्ने बाध्यता छ । यसरी संरक्षित क्षेत्रको क्षेत्रफल बढाउनु पर्दा पञ्चासे जस्तो पर्यटकीय लाभ लिन सकिने ठाउँलाई प्राथमिकता दिनु पर्दछ ।   ६.० समान जस्तै तर भिन्न : वन संरक्षण क्षेत्र र संरक्षण क्षेत्र समान जस्तै देखिन्छन । वन उपभोक्ताका अधिकार र सहुलियतका दृष्टिकोणले वन संरक्षण क्षेत्र र संरक्षण क्षेत्रमा तात्विक भिन्नता छैन । तैपनि यी दुई विच निम्न भिन्नता रहेका छन । क) संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम स्थापना गरिन्छ । तर वन संरक्षण क्षेत्र वन ऐन २०७६ बमोजिम स्थापना गरिन्छ । संरक्षण क्षेत्र संघको अधिकार सूचिमा पर्दछ भने वन संरक्षण क्षेत्र संघ र प्रदेशको साझा अधिकार सूचिमा पर्दछ ।    ख) राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यबर्ती क्षेत्रलाई एउटै शब्दमा भन्नु पर्दा संरक्षित क्षेत्र (Protected Area ) भनिन्छ । विश्वभरका संरक्षित क्षेत्रलाई विश्व संरक्षण संघ (IUCN) ले बर्गिकरण र सुचिकृत गर्दछ । तर वन संरक्षण क्षेत्रलाई संरक्षित क्षेत्रको सूचिमा बर्गिकरण र सूचिकृत गर्दैन । संरक्षित क्षेत्रमा समाबेश गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम स्थापना गरेको हुनु पर्दछ । संरक्षित क्षेत्रलाई पर्यटन प्रबद्र्धनका लागि ब्रान्डिङ्ग गर्न सजिलो हुन्छ ।  ग) राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा प्रकृति संरक्षण र पर्यटन प्रबद्र्धनका कामले बढि प्राथमिकता पाएको हुन्छ भने वन संरक्षण क्षेत्रमा वनपैदावारको उत्पादन गर्ने कामले बढि र पर्यटन प्रबद्र्धनको कामले कम प्राथमिकता पाएको हुन्छ । अहिले पञ्चासे वन संरक्षण क्षेत्र ब्यबस्थापनमा संलग्न प्रदेश वन निर्देशनालय तथा कास्की, स्याङ्जा र पर्वतका डिभिजन वन कार्यालयका गतिबिधिहरु पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने खालका छैनन । उनिहरुको मुख्य चासो काठ, दाउरा लगायतका वनपैदावारको उत्पादन गर्ने र पञ्चासेलाई राष्ट्रिय निकुञ्ज वनाउन नदिन रोक्ने मात्र रहेको छ ।     ७.० ब्यबधानहरु : पञ्चासेलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्रको रुपमा ब्यबस्थापन गर्न गण्डकी प्रदेश सरकार र सो अर्न्तगतको कर्मचारीतन्त्र, ब्यापारिक घराना, सामुदायिक वन उपभोक्ता महासंघ, चोरीशिकारी, स्थानीय ठालु र राजनैतिक दलले निम्न कारणले ब्यबधान खडा गर्न सक्छन ।   क) नेपालको संबिधानको अनुसूचि ७ ले वन संरक्षण क्षेत्रलाई संघ र प्रदेशको साझा अधिकारको सूचिमा राखेको छ । अहिले पञ्चासे वन संरक्षण क्षेत्र गण्डकी प्रदेश सरकारले ब्यबस्थापन गर्दै आएको छ । यो ठाउँलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाएमा प्रदेश सरकारको क्षेत्राधिकार कटौति भई नेपालको संबिधानको अनुसूचि ५ अर्न्तगत संघको अधिकार सूचि भित्र पर्ने हुन्छ ।    ख) केही ब्यापारिक घरानाले पञ्चासेमा केबुलकार र होटल सञ्चालन गर्न त्यहाँको वन क्षेत्रलाई भाडामा लिन पहल गर्दै आएका छन । राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाएमा उक्त कार्य सहज नहुने उनिहरुको बुँझाई रहेको छ ।  ग) अहिले पञ्चासेको वनमा बर्षात्‌को समयमा झण्डै २०० देखि ३०० वटा गाईबस्तु चर्ने गरेको छन भनि स्थानीय नवराज पौडेल र डिभिजन वन कार्यालय, कास्कीका कर्मचारी खेमराज पौडेलले वताउनु भएको छ । त्यहाँ रहेका १०८ वटा सामुदायिक वनबाट झण्डै ३५०० घरधुरी परिवारले दाउरा संकलन गर्ने गर्दछन । त्यसैले वन उपभोक्ताको अधिकारको बिषयलाई लिएर सामुदायिक वन उपभोक्ता महासंघले राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाउन नदिन बिरोध गर्न सक्छन ।     घ) अहिले पञ्चासेको वनमा करिब ५० जना ब्यतिm वन्यजन्तुको चोरी शिकारमा संलग्न भएको थाहा लागेको छ । यस्ता ब्यतिmले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको सधै बिरोध गर्दछन । त्यस्तै स्थानीय ठालु र राजनैतिक दलका आ–आफ्ना स्वार्थ गाँसिएको हुँदा पञ्चासेलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाउने तर्फ उनिहरुको चासो रहेको छैन ।    ८.० समाधानका उपायहरु : पञ्चासेलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र वनाउदा खडा हुन सक्ने ब्यबधानलाई हटाउन समाधानका निम्न उपायहरु अबलम्वन गर्न सकिन्छ । क) प्रदेशले छुट्टै कार्यालय स्थापना गर्ने : पञ्चासेलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र नै वनाउनु पर्दछ भन्ने छैन । तर एउटा ठुलो चक्ला वनलाई तीन वटा डिभिजन वन कार्यालयको कार्य क्षेत्र भित्र राखेर प्राकृतिक श्रोत ब्यबस्थापन गर्न खोज्नु गलत अभ्यास हो । प्राकृतिक श्रोत ब्यबस्थापन गर्दा राजनैतिक सिमानालाई आधार वनाईनु हुँदैन । प्रदेश सरकारले यस्तो गलत अभ्यासलाई सच्याएर पञ्चासे वन संरक्षण क्षेत्रलाई ब्यबस्थापन गर्न एउटा छुट्टै कार्यालय स्थापना गरेमा जैबिक बिबिधता संरक्षण र पर्यटन प्रबद्र्धनमा अहिले भन्दा कयौ गुणा बढि टेवा पुग्ने हुन्छ ।  ख) ब्यबस्थापन जीम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्ने : पञ्चासेलाई राष्ट्रिय निकुञ्ज बनाउने हो भने त्यसको ब्यबस्थापन जीम्मेबारी प्रदेश सरकारलाई सुम्पन सक्ने कानूनी ब्यबस्था गर्नु पर्दछ । त्यसको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संशोधन गर्नु पर्दछ । पञ्चासेलाई संरक्षण क्षेत्र वनाउने हो भने निकुञ्ज ऐन संशोधन नगरिकनै पनि प्रदेश सरकारलाई ब्यबस्थापनको जीम्मेवारी सुम्पन सकिन्छ । यसो गरेमा पञ्चासेले संरक्षित क्षेत्रको रुपमा अर्न्तराष्ट्रिय मान्यता पाउँछ र प्रदेश सरकारको अधिकार क्षेत्र पनि कटौति हुँदैन । यसो गरेमा नेपाल सरकार र प्रदेश सरकारलाई कुनै आर्थिक ब्ययभार पनि पर्दैन । दुबै पक्षको जीत–जीतको अबस्था हुन्छ । ग) सेवा सञ्चालनमा अबरोध नहुने : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ ले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र भित्र सेवा सञ्चालन सम्बन्धि कानूनी ब्यबस्था गरेको छ । ब्यापारिक घरानालाई ऐनको यसै प्राबधानको अधिनमा रहेर केबुलकार र होटल सञ्चालन गर्न दिनु पर्दछ ।   घ) साझेदारी र सहकार्यको ब्यबस्था : राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र स्थापना गरेपछि स्थानीय समुदायले पर्यटकीय लाभ पाउनुका साथै त्यसले आर्जन गरेको ३० देखि ५० प्रतिशत आम्दानी उपभोक्ता समिति मार्फत खर्च गर्न पाउँछन । त्यसैगरी राष्ट्रिय निकुञ्ज र मध्यबर्ती क्षेत्रको ब्यबस्थापनमा सहयोग पुर्याउन निकुञ्ज प्रशासन, मध्यबर्ती क्षेत्रका बासिन्दा र नेपाली सेनाको तीनखम्वे संरचना तयार पारिएको छ । यस संरचनामा स्थानीय तहलाई समेत समाबेश गर्नु पर्नेमा हाल सम्म समाबेश गरिएको छैन । यस्ता बिषय बारे जानकारी गराएमा राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्रको बिरोध गर्नेहरु सकारात्मक हुन सक्छन ।   ९.० निचोड : पञ्चासे पोखरा नजिकैको पर्यटकिय गन्तब्यस्थल हो । यहाँ आन्तरिक तथा वाह्र्य गरी बर्षेनी झण्डै २५,००० देखि ३२,००० पर्यटकले भ्रमण गर्ने गरेको थाहा लागेको छ । यहाँको रमणिय प्राकृतिक वातावरण (Natural Environment), प्राकृतिक सौर्न्दय, जैबिक बिबिधता र धार्मिक महत्वका कारण यो क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या बर्षेनि बढ्दै गएको छ । तर अहिले पञ्चासेलाई ब्यबस्थापन गरेको मोडल पर्यटनमैत्री नहुँदा यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय बस्तु (टुरिजम प्रोडक्ट) वनाउन सकिएको छैन । पञ्चासेको वन काठ, दाउरा र जडिबुटी उत्पादनका लागि उर्पयुक्त छैन । तर नेपालको कर्मचारीतन्त्रले यो ठाउँलाई राष्ट्रिय निकुञ्ज हुनबाट रोक्न वन संरक्षण क्षेत्र बनाएर पोखराको पर्यटन प्रबद्र्धनमा अबरोध पुर्याएका छन । पञ्चासेलाई राष्ट्रिय निकुञ्जको रुपमा ब्रान्डिङ्ग गरेमा यहाँ आएका पर्यटकको बसाई अबधि र खर्च दुबै बढाउन सहयोग पुग्नेछ । त्यसैले पोखराका राजनितिक नेतृत्व, पर्यटन ब्यबसायी र स्थानीय समुदायले समयमै आबाज उठाएर पञ्चासेलाई राष्ट्रिय निकुञ्जको अबधारणा बमोजिम ब्यवस्थापन गर्न लगाउनु पर्दछ ।    सर्न्दभ सामाग्री र श्रोत ब्यतिm  १) नेपालको संबिधान (२०७२), अनुसूचि–७, पेज १८१ २) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ३) वन ऐन २०७६ र वन नियमाबली २०७९ ४) गण्डकी प्रदेश वन ऐन २०८० ५) स्थितिपत्र (Status Paper), २०७५ : गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय     (पेज ४१ देखि ४३ सम्म) ६) अन्नपूर्ण गाउँपालिका, वडा नं. ४ का नवराज पौडेल र डिभिजन वन कार्यालय, कास्कीका कर्मचारी     खेमराज पौडेल

(नोट : लेखक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका संरक्षण अधिकृत हुनुहुन्छ । यी उहाँका निजि बिचार हुन । यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागको कुनै सम्बन्ध छैन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *