पर्वत।
जिल्लाको मोदी गाउँपालिकाकाे वडा नं ६ तिलाहारले सार्वजनिक पद धारण गर्ने सबै कर्मचारी , शिक्षक, जनप्रतिनिधिका सन्तानलाई आगामी शैक्षिक सत्रमा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ ।
गत असारमा सम्पन्न भएको मोदी गाउँ पालिकाको गाउँसभाले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न तथा शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी मोदी गाउँपालिका भित्रका सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुले आफ्ना सन्तती सामुदायिक विद्यालयमा पढाउनुपर्ने संकल्प प्रस्ताब सर्वसम्मत रुपमा पारित गरेको थियो ।
उक्त संकल्प प्रस्ताव कार्यान्वयन गर्न भन्दै मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका अध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेले आज मंगलबार एक सूचना जारी गर्दै वडा भित्रका सम्पूर्ण जनप्रतिनिधि शिक्षक कर्मचारी लगायत सार्वजनिक पद धारण गरी सरकारी सेवा सुविधा लिने सम्पूर्ण राष्ट्रसेवकहरुले अनिवार्य रुपमा संकल्प प्रस्तावको कार्यान्वयन गर्ने र सार्वजनिक संघ संस्थाका प्रमुखहरुले आफ्नो मातहतका शिक्षक कर्मचारीहरुलाई अनिवार्य रुपमा संकल्प प्रस्ताबको कार्यान्वयन गर्न लगाई सो को जानकारी वडा कार्यालयमा अनिवार्य रुपमा पठाउन अनुरोध गर्नु भएको छ ।
साथै उक्त सूचनामा वडा भित्रका सम्पूर्ण राजनैतिक
दलका प्रमुख/उपप्रमुख राजनैतिक कर्मी, समाजसेवी तथा बुद्धिजीविहरुमा समेत उक्त प्रस्तावको कार्यान्वयनमा सहयोग पुराउन वडा कार्यालयद्वारा अनुरोध गरिएको छ ।