पोखरामा बिजुलीका तार भूमिगत गरिँदै

पोखरा ।

सहरिकरण सँगै पोखराको सुन्दरतामा आँच ल्याएको बिजुलीका तारलाई भूमिगत गर्न थालिएको छ । २०७८ माघमा सम्झौता भएकोमा बल्ल ३० प्रतिशत काम पूरा भएको हो ।

पोखरा-१० को कुँडहर क्षेत्रबाट तार भूमिगत आयोजना सुरु गरिएको योजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । वडाले गरेको अध्ययन अनुसार प्रतिकिलोमिटर तार भूमिगत गर्न करिब १ करोड हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको तत्कालीन वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले बताए ।

प्राधिकरणले तार भूमिगत गर्न भारतीय कम्पनी टाटा प्रोजेक्ट्सलाई जिम्मा दिएको हो । परियोजना अन्तर्गत कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुंगा लगायतका क्षेत्रका तार भूमिगत गरिनेछ ।

विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइने सुवेदीले बताए । पहिलो चरणमा २६ किलोमिटर क्षेत्रमा भूमिगत गरिने छ ।

सम्झौता अनुसार तार भूमिगत गर्ने काम आगामी जनवरीसम्ममा सक्नु पर्छ । तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा १ अर्ब ३० करोड खर्च हुने बताइएको छ । केही क्षेत्र थप गर्न लागिएको अझै लागत बढ्ने सुवेदीको भनाई छ । सरकारले पोखरा र भरतपुरमा तार बिछ्याउन २ अर्ब ५० करोड ३३ लाखमा निर्माण कम्पनीसँग सम्झौता गरेको हो । पोखरामा कहिलेकाहीँ विद्युत्का पोलमै आगो लाग्ने र त्यसले सडकमा हिँड्ने यात्रुलाई समेत क्षति गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *