काठमाण्डौ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्रा परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।
ती मध्ये कोशी प्रदेशबाट छात्र ३९ हजार ६७५ र छात्रा ४० हजार ४८४, मधेश प्रदेशबाट छात्र ४१ हजार ४ १६, र छात्रा ४० हजार ७९७, बागमतीबाट छात्र ५३ हजार ३६ र छात्रा ५० हजार ४२०, गण्डकी प्रदेशबाट छात्र २१ हजार ६३६ छात्रा २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ छात्र र छात्रा ४५ हजार ८५१, कर्णालीबाट छात्र १६ हजार २०० र छात्रा १६ हजार ३१८ र सुदुर पश्चिमबाट छात्र २७ हजार ८०९ र छात्रा २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।
यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषयमा एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।