पर्वतको मोदी गाउँपालिकामा खानेपानी आयोजना सम्पन्न: ७७ घरमा पुग्यो धारा 

पर्वत ।

जिल्लाको मोदी गाउँपालिका–६, तिलाहार ठानामा वर्षौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीको सहयोगमा १ करोड ३६ लाख रुपैयाँको लागतमा ‘ठाना खानेपानी तथा सरसफाइ आयोजना’ निर्माण सम्पन्न भएसँगै स्थानीयबासी हर्षित भएका छन्।

युनिका फाउन्डेसन नेदरल्याण्डको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा आयोजना सम्पन्न भएको हो। आयोजना अन्तर्गत ७७ वटा धाराहरू निर्माण गरिएका छन्, जसले गर्दा प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ। बस्तीदेखि करिब २ किलोमिटर टाढा रहेको कमलस्वारा मूलबाट पानी ल्याएर वितरण गरिएको छ।

नवनिर्मित खानेपानी आयोजनाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले गर्नुभएको हो। उद्घाटनका क्रममा उहाँले विकासका पूर्वाधारमा खानेपानीको पहुँच आधारभूत आवश्यकता रहेको र यसले स्थानीयको जीवनस्तर सुधार्न मद्दत पुग्ने बताउनुभयो।  पहिले खानेपानीका लागि टाढासम्म जानुपर्ने बाध्यता रहेका तिलाहारबासीका लागि यो आयोजनाले ठुलो राहत दिएको छ। आयोजना सम्पन्न भएसँगै अब गाउँपालिकाले यसको दिगो व्यवस्थापन र सरसफाइमा पनि ध्यान दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *