मोदी गाउँ सभाको १८औँ अधिवेशन सम्पन्न

पर्वत ।

जिल्लाको मोदी गाउँपालिकाको गाउँ सभाको  १८औँ अधिवेशन मंगलबार मोदी सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष ०८२/०८३ का बजेट, योजना तथा कार्यक्रम संशोधनसहित विभिन्न ऐन र विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ। उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गर्नुभएको बजेट रकमान्तर तथा श्रोतान्तर प्रस्ताव पारित भएको हो।सभाबाट चालु र पुँजीगत शीर्षकमा गरी करिब डेढ करोड रुपैयाँ रकमान्तर तथा श्रोतान्तर गरिएको छ।

साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, आर्थिक ऐन र विनियोजन ऐन २०८२ का संशोधन प्रस्ताव तथा विज्ञापन व्यवस्थापन र नियमनसम्बन्धी विधेयक पनि स्वीकृत भएका छन्। अब गाउँपालिका क्षेत्रमा विज्ञापन, होर्डिङ बोर्ड, पर्चा–पम्प्लेट र भित्तेलेखन गर्न अनुमति लिनुपर्ने र वार्षिक राजस्व तिर्नुपर्ने व्यवस्था लागू हुने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो। यो व्यवस्था चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ।

सभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन पेश हुनुका साथै सेवा करार र दैनिक ज्यालादारी कर्मचारीहरूको सम्झौता नवीकरणसम्बन्धी प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरियो। गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता प्रवर्द्धनमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *