उन्नत जातको सुन्तलाको बिरुवा ल्याइदिने भन्दै देउपुरमा कृषकबाट रकम संकलन, ठगिन सक्ने आशंकामा रकम फिर्ता, प्रहरीद्वारा अनुसन्धान जारी

मोदी, पर्वत ।‎

उन्नत जातका सुन्तलाका बिरुवा उपलब्ध गराई दिने भन्दै रकम उठाइ रहेका दुई जना व्यक्तिलाई देउपुरका कृषकहरूले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । हरियाली एग्रोभेट एण्ड फरेष्ट्री प्रालिको नाममा उनीहरूले  विगत केही दिन देखि मोदी गाउँ पालिकाको वडा नं २ देउपुरका विभिन्न टोलमा कृषकहरुलाई जम्मा गरी रकम उठाएका उठाएका थिए ।

छोटो समयमा फल्ने थाइल्यान्ड बाट ल्याइएका उन्नत जातका सुन्तलाका बिरुवाहरू ल्याई दिने सर्तमा अग्रिम रूपमा रकम संकलन गरिरहेका कम्पनी सञ्चालक हंसराज देवकोटा र उनका सहयोगीलाई स्थानियले रकम फिर्ता गर्न लगाई अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएका हुन् ।

कृषि ज्ञान केन्द्र पर्वत, स्थानीय कृषि शाखा, स्थानिय सरकार लगायतका कुनै पनि सम्बन्धित निकायहरु सँग समन्वय नगरी धमाधम कृषकहरु सँग रकम उठाइ रहेको   थाहा पाएपछि विरुवाको गुणस्तरता र कम्पनीको आधिकारिता बुझ्न खोज्दा शंका लागेकोले रकम फिर्ता गर्न लगाई अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाइएको माछापुच्छ्रे कृषि सहकारीका पूर्व अध्यक्ष एवम अगुवा कृषक दाताराम चापागाईले जानकारी दिनु भयो ।

कम्पनी सञ्चालक देवकोटाले आफूहरुले वडालाई मौखिक जानकारी गराएको तर स्थानीय सरकार तथा कृषि शाखासँग समन्वय भने नगरेको बताउनु भएको छ ।  आफूहरु कुनै ठगी गर्न नआएको तर कृषकहरु विश्वस्त नभएको कारण रकम फिर्ता गरेको उहाँले बताउनु भयो । उक्त कम्पनीको नाममा सो वडा बाट झण्डै २० हजार भन्दा बढी संकलन गरिएको थियो । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको देउपुर प्रहरी चौकीले जानकारी दिएको छ ।

देउपुर सुन्तला उत्पादनको पकेट क्षेत्रको रूपमा परिचित छ । पछिल्ला वर्षहरूमा प्राविधिक जांच बिना नैं जथाभावी बिरुवाहरू ल्याउने, विषादीको प्रयोग गर्ने कार्यले गर्दा सुन्तलामा नयाँ नयाँ रोगहरू देखिएको र मर्दै गइरहेको कृषकहरु बताउँछन् । जलवायु परिवर्तनको असरले गर्दा करिब ११ सय मिटर  उचाइ सम्म रहेको बगानका सुन्तला मरी सकेका छन् भने त्यो भन्दा माथि पनि सुन्तलामा समस्या देखिन थालेको छ ।   ‎ ‎ ‎ ‎ ‎ ‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *