तिहारपछि धौलागिरी क्षेत्रमा आन्तरिक पर्यटकको भीड  कुश्मादेखि मुस्ताङसम्म होटलहरू खचाखच, सयौँ पर्यटकलाई बासको समस्या 

पर्वत ।

तिहार सकिएलगत्तै आन्तरिक पर्यटकहरूको असामान्य भीडका कारण धौलागिरी क्षेत्रका होटलहरू भरिभराउ भएका छन्। पर्वतको सदरमुकाम कुश्मा बजार, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी बजार, र मुस्ताङका अधिकांश होटलमा अहिले कोठा पाउन मुस्किल भएको छ।  शनिबार रातिसम्म कुश्मा बजारमा सयौँ पर्यटक बासको खोजीमा सडकमा अलपत्र परेको दृश्य देखिएको थियो।

हिमालपारिको मुस्ताङ र कुश्माका साहसिक खेलहरू — बन्जी, स्काइ साइक्लिङ, र झोलुंगे पुल हेर्न आएका पर्यटकका कारण होटलहरू फुल बुक भएका हुन्।

होटल क्षमता अपुग, राजमार्ग छेउका होटलमा समेत भीड

कुश्मा बजारमा करिब ५ सय जनाको क्षमताका होटल सञ्चालनमा भए पनि सबै कोठा भरिएका छन्। बजारभित्र बास नपाएका पर्यटकहरू राजमार्ग छेउका होटलमा रात बिताउन बाध्य भएका छन्।  वर्षायाम समाप्त भइसकेको र तिहारको लामो बिदा परेकाले आन्तरिक पर्यटकहरूको ठूलो संख्यामा भ्रमणमा निस्किएको अनुमान गरिएको छ। म्याग्दी र मुस्ताङ जिल्ला प्रशासनले समेत सूचना जारी गर्दै “पहिले नै होटल बुकिङ गरेर मात्र यात्रा सुरु गर्न” अनुरोध गरेका छन्।

साहसिक पर्यटनको केन्द्र बन्दै कुश्मा 

पछिल्ला वर्षहरूमा साहसिक खेलहरूको आकर्षणका कारण कुश्मा बजार आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको छ। सुविधासम्पन्न होटलहरूको संख्या बढ्दै गए पनि पर्यटक चाप धान्न अझै चुनौती छ।  होटल स्वर्गका सञ्चालक सुवासचन्द्र पौडेलका अनुसार, “साँझपख सयौँ पाहुनालाई कोठाको अभावमा फिर्ता पठाउनुपर्‍यो।”  त्यस्तै, एडभेन्चर रिसोर्टका सञ्चालक सुनिल बाँनियाले अनलाइनमार्फत बुकिङ गरेका धेरै पाहुनालाई पनि कोठा दिन नसकिएको बताउँदै, “अब होटलहरूको क्षमता विस्तार गर्न आवश्यक छ,” भने।

मुख्य होटलहरू पनि फुल बुक 

कुश्माका प्रमुख होटलहरू — होटल बन्दना, माउन्टेन भ्यू, रोयल कुश्मा, होटल बेन्जु, होटल स्वर्ग, र वारीबेनीस्थित ज्ञान गौरी होटल — सबै खचाखच भरिएका छन्।

बन्जी साइट नजिकका होटल र ‘द क्लिफ’ क्षेत्रका कोठाहरू पनि पूर्ण रूपमा ‘अकुपाइड’ छन्।  स्थानीयको सहयोग र प्रशासनको सूचना  म्याग्दीको बेनीमा बास नपाएका यात्रुहरूलाई स्थानीयले आफ्नै घरमा लगेर बास दिएको एक युवा प्रकाश पौडेलले सामाजिक सञ्जालमा जनाएका छन्। त्यस्तै, मुस्ताङका पत्रकार महासंघका पूर्व अध्यक्ष सुन्दर थकालीले लेखेका छन्  “मुस्ताङमा एकै दिनमा १० हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन्।”

पर्यटन वृद्धि, तर पूर्वाधार अपुग 

यातायातको सहज पहुँच, नयाँ साहसिक गतिविधि र प्रचार–प्रसार बढेसँगै यो क्षेत्रमा आउने पर्यटकको संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको छ। तर, होटलको संख्या र सेवा–सुविधा अझै अपुग रहेको पर्यटन व्यवसायीहरूको धारणा छ। तिहारपछिको भीडका कारण होटलहरू भरिभराउ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *