पर्वत।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा रहेको जन नेत्र माविमा जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मोदी गाउँ पालिकाकाे समन्वय र सामाजिक विकास कार्यालय, पर्वतकाे आयोजनामा वैशाख २१ र २२ गते सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई जेष्ठ नागरिकहरुमा भएका ज्ञान , सीप र प्रविधिको पहिचान, संरक्षण र पुस्तान्तरण का तरिकाहरू बारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा सभ्यता, परम्परा, रीतिरिवाज, संस्कृति सम्बन्धी बिषयबस्तु रहेका थिए । समाजमा लोप हुँदै गएका परम्परागत सीप, पेसा र कलाकारिताको संरक्षण र सम्बर्द्धनमा विद्यार्थीहरुको भूमिकाको बारेमा समेत जानकारी गराइएको थियो । त्यसैगरी सुकर्म, संस्कार, अनुशासन, तथा नियम, शिष्टता, नाता, बास्तु ज्ञान लगायतका बिषयबस्तुहरुमा प्रशिक्षण दिइएको सामाजिक विकास कार्यालय प्रमुख टंक प्रसाद ढकालले जानकारी दिनु भयो ।
पुर्खाहरुको ज्ञान सीप र अनुभबको बारेमा सिक्न पाउँदा निकै खुशी लागेको र कार्यक्रम सान्दर्भिक रहेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । “हामीले हाम्रै अभिभावकहरूबाट धेरै महत्वपूर्ण र जीवनोपयोगी कुरा सिक्न सक्ने रहेछौं भन्ने थाहा पायौं ।” कार्यक्रमका एक जना सहभागी विद्यार्थी प्रेम अधिकारीले भने ।
कार्यक्रमका अर्का सहभागी शिक्षक ढाकाराम सापकोटा भन्छन् ,” कार्यक्रमले सहभागीहरुमा नयाँ रक्तसञ्चार गराएको छ । आफना पूर्खाहरुप्रती गर्व गर्न, उनीहरूको ज्ञान सीपलाई अनुसरण गर्न र भावी पुस्तालाई हस्तान्तरण गर्न कार्यक्रम फलदायी रह्यो ।”
प्रमुख प्रक्षिक्षक भवानी प्रसाद शर्माले प्रशिक्षण गर्नु भएको सो कार्यक्रममा सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंक नाथ ढकाल, प्रशासन अधिकृत बालकृष्ण घिमिरे, लेखा प्रमुख जगत नेपाली लगायतले सहजीकरण गर्नु भएको थियो ।
दुई दिन सम्म चलेको सो कार्यक्रममा जननेत्र माविकाे कक्षा ९, १० र ११ का तीस जना विद्यार्थी र छ जना शिक्षक गरी ३६ जनाको सहभागिता रहेको थियो ।
