देउपुरमा लायन्स क्लब अफ पोखरा भद्रकालीको बाख्रा पैँचो तथा अनुगमन कार्यक्रम सम्पन्न

पर्वत।

लायन्स क्लव अफ पोखरा भद्रकालीले बिपन्न परिवारहरूको आय आर्जनमा सहयोग पुग्ने गरी अगाडि सारेको बाख्रा पैँचो कार्यक्रम अन्तरगत मोदी २ देउपुर , गैराथोकमा अनुगमन तथा सुझाब संकलन कार्यक्रम गरेको छ ।

क्लवले एक दशक देखि अगाडि सारेको बाख्रा पैचो कार्यक्रममा कृषकहरूले गरेका असल अभ्यासहरु तथा भोग्नु परेका समस्याहरू पहिचानको लागि शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै कृषकहरूले आफुहरुलाई आर्थिक रुपमा बलियो बनाउन क्लवले अगाडि सारेको योजना प्रभावकारी भएकाले आगामी दिनमा थप परिवारहरुलाई पनि यो योजनामा समावेस गराउनु पर्ने सुझाव राखेका थिए ।

त्यसै गरी पछिल्ला वर्षहरूमा विभिन्न रोगहरूका कारण बाख्राहरु मर्ने क्रम बढेको हुँदा बीमाको व्यवस्था गरी दिन कृषकहरूले अनुरोध गरेका थिए ।

कृषक टुलक तिवारीले भने ” लायन्स क्लबको सहयोगले शुरू गरिएको बाख्रापालन फस्टाउँदै गएर व्यवसायिक रूपमा लिन थालेको थियो तर एकै पटक १० ओटा बाख्राहरु मरेर झण्डै २ लाख भन्दा बढीको क्षति भयो।”

कार्यक्रममा लायन्स क्लब अफ पोखरा भद्रकाली का दीपक राज तिवारीले समुदायका बिपन्न परिवारहरुलाई आर्थिक रुपमा सक्षम बनाउने हेतुले गरेको काम प्रभावकारी बन्दै गएकोमा खुशी व्यक्त गर्दै आई परेका समस्याहरू समाधान गर्न क्लवले थप सहयोग गर्ने धारणा राख्दै ब्यवसायिक रुपमा अगाडि वढ्न सुझाव दिनु भयो ।

बाख्रापालक कृषकहरुलाई थप हौसला मिलोस् भन्ने उद्देश्यका साथ हरेक वर्ष बाख्रा पैचो तथा अनुगमन कार्यक्रमको आयोजना गर्ने गरिएको क्लबका अध्यक्ष अमृत कुमार पौडेलले बताउनु भयो । यस वर्ष पनि मागका आधारमा बिपन्न परिवारको पहिचान गरी बाख्राहरु वितरण गरिने पौडेलले जानकारी दिनु भयो ।

सोही अवसरमा उत्कृष्ट बाख्रापालनका कृषकको रूपमा स्थानीय मधुसुदन चापागाईंलाई २ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *