काठमाडौँ |
देशभरका १६५ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतक्ष्य तर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ भने समानुपातिक तर्फ ११० सिटको मतगणना जारी रहेको छ । अब झण्डै २ लाख मत गन्न बानी छ । हालसम्म सार्वजनिक नतिजा अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै सदनमा आफ्नो बलियो वर्चस्व कायम गरेको छ।
प्रतक्ष्य तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिटमा विजय हासिल गरेको छ भने नेपाली काँग्रेसले १८ सिट प्राप्त गरेको छ । चुनाव अघि बहुमत ल्याएर एकल सरकार बनाउने दाबी गर्दै आएको नेकपा (एमाले)ले ९ सिटमा चित्त बुझाउनु परेको छ । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले ८, भर्खरै उदाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार महावीर पुनले १ गरी प्रतक्ष्य तर्फको १६५ सिटको टुङ्गो लागेको छ ।
समानुपातिक तर्फको कूल १,०७,२०,५६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१,२९,६१९ मतका साथ ऐतिहासिक सफलता प्राप्त गरेको छ। प्रतक्ष्य र समानुपातिक दुवै जोड्दा यो दल झण्डै दुई तिहाई नजिक पुगेको छ । समानुपातिकमा पनि अन्य दलहरु धेरै पछि परेका छन् । यस निर्वाचनले पुराना भनिने ठूला दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) लाई ठूलो धक्का दिएको छ।
यस निर्वाचनमा ‘श्रम संस्कृति पार्टी’ ले प्रतक्ष्य तर्फ ३ सिट जितेर आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याएको छ भने राप्रपाले १ सिट सुरक्षित गरेको छ। यी दुवै पार्टीले ३ प्रतिशत भन्दा बढी मत प्राप्त गरि राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्ने निश्चित देखिएको छ ।
यो सँगै विशेष गरी स्वतन्त्र उम्मेदवारका रूपमा वैज्ञानिक महावीर पुनको जितलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। निर्वाचनको यो परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति र युवा नेतृत्वप्रति जनताको व्यापक आकर्षण रहेको पुष्टि गरेको छ। अबको नयाँ सरकार गठनमा रास्वपाको एकलौटी बहुमत पुग्ने भएकाले राजनीतिक स्थिरताको नयाँ सम्भावना देखिएको छ।

