पर्वत ।
पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् । सुन्दर पर्यटकीय सहर पोखराबाट झण्डै ४६ किलोमिटरको मोटरबाटोबाट पर्वतको डिमुवा पुगेपछि फेरि कच्ची बाटोमा झण्डै एक घण्टाको जीप यात्रा गरेर पर्वतकै चित्रेमा पर्ने खोलापारी गाउँ पुगिन्छ । खोलापारीबाट तीन घण्टा पैदल हिँडेर उकालो चढेपछि एउटा सुन्दरताको खानी चुम्न पुगिन्छ । २ हजार ५ सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरु भन्छन्, क्या अनुपम पञ्चासे ।

विशेष गरी बालाचतुर्दशीको दिन हजारौ भक्तजनहरुको भिड हुने पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा रहेको पञ्चासे डाँडा पुग्नेहरु उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मनमुग्ध हुन पुग्छन् । पञ्चासे लेकमै रहेको बैदान ताल नियालेपछि थप रोमान्चित अनुभव गर्छन्, समुद्र सतहदेखि २ हजार ५ सय ९ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ १ सय १० मिटर र चौडाइ २० देखि २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जंगलले घेरिएको छ । पञ्चकोसी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो । तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जंगलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने विश्वास गर्ने गरिएको छ ।
पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूण्, धवलागिरीलगायतका हिमशृंखला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तर्राईका फाँट देखिन्छन् । पञ्चासेको भ्यू टावरबाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवाताल मात्रै होइन, दक्षिण पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधिखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटकहरु उद्वेलित हुन्छन् ।

गुरुङ समुदायको बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले गण्डकी प्रदेशकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा र त्यसपछि तीन-चार घण्टा पैदल हिँडेर आउन पनि सकिन्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै तीन घण्टा तथा पर्वतको कुश्मा, डिमुवा, चित्रे, आर्थर हुँदै दुइ घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ । हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङजाको फेदीखोला, आर्रुखर्कहुदै पञ्चासे भञ्ञ्याङसम्मै जीप पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भए पनि पदयात्रा गर्दाको आनन्द अर्कै छ । कैयौं स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुगेका हुन्छन् ।पञ्चासेबाट विभिन्न ठाउँको दृश्यावलोकन गरेपछि पर्यटकहरु रहरअनुसार स्थानीयका घर, भञ्ज्याङका होटल र क्याम्पसाइटमा पाल टाँगेर बस्ने गर्छन् ।
पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डवहरु गुप्तवासमा रहँदा बसोबास गरेका, बाईसे-चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । पञ्चासेमा बालाचतुदशीमा सतबीज र्छर्नेहरुको घुइँचो लाग्छ भने अन्य समयमा पञ्चासेले पर्यटकलाई कुरी रहेको हुन्छ । पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न ५ हजार ५ सय हेक्टर वन क्षेत्रमध्ये १ हजार ७ सय हेक्टर बन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा ५ सय ८९ किसिमका फूल, १ सय ५० औषधीजन्य जडिबुटी, ५६ प्रजातिका जङगली स्याउ, ९८ उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जंगलमा बिभिन्न प्रजाति चराचुरुङगी र दुलभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्क छन् ।
७ सय ८४ मिटरदेखि २ हजार ५ सय १७ मीटरसम्मको उचाइमा पर्ने पञ्चासे डाँडाबाट एकैपटक धेरै हिमालको अवलोकन पनि गर्न पाइन्छ । सूर्योदय र सूयास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । ५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रको जैविक विविधता साँच्चै हेर्नलायक छ ।
बाला चतुर्दशीकै दिन सतबीज छर्न पन्चासे पुग्नू भएकी मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले पञ्चासे पर्यटकीय गन्तव्य बन्दै गएपछि यहाँ बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूवाधार निर्माणका काम अघि बढाईएको र पर्वतले पनि आन्तरिक तथा बाहृय पर्यटकहरु भित्र्याउन बृहत् गुरुयोजना बनाएको बताउनु भयाे । सिद्धबाबाको मन्दिरमा पुगेपछि जोकोहीलाई पनि र्फकरै नजाउँ झैँ गरी मोहनी लाग्ने कुरा पनि उहाँले बताउनुभयो ।