महँगीको मारमा उपभोक्ता : चामल, गोलभेडा र जिराको भाउ बढ्यो

दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । बजारमा गाेलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ ।माग अनुसारको उत्पादन नहुँदा गाेलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएका छन् ।२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ । तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढाएको भन्दै विरोध भइरहेको छ ।यस्तै, बजारमा जीराको भाउ समेत अचाक्ली बढेको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसले असर गरेको व्यापारी बताउँछन् ।

त्यस्तै, बजारमा गोलभेडाको भाउ पनि दिनहुँ बढिरहेको छ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज थोक बजारमा नै ठूलो गाेलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।यस्तै, सानो गाेलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गाेलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । यो थोक मूल्य हो ।उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भाउको दोब्बर तेब्बर महँगाे पर्छ । गाेलभेडाको भाउ बढ्नुमा अफसिजन र माग भन्दा कम उत्पादन हुनु नै कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।अहिले भारतमा पनि गाेलभेडाको भाउ बढेको छ । यसले गर्दा भारतबाट गाेलभेडा भित्रिएको छैन । बरु नेपालबाट केही व्यापारीले भारतमा बिक्रि गरिरहेका छन् ।गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गाेलभेडा फालेर विरोध गरेका थिए ।तर, अहिले भने किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गाेलभेडाको मूल्य बढ्न थालेपछि  किसान उत्साहित भएका छन् । तर, उपभोक्ता भने महँगीको मारमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *