मोदीको राम्जामा ज्येष्ठ नागरिक भवन अध्यक्ष तिमिल्सिनाद्दारा समुद्घाटन, 

पर्वत ।

राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबाट मोदी गाँउपालिका ७ राम्जा,गोतामेथरको ज्येष्ठ नागरिक भवन समुद्घाटन भएको छ । मंगलबार नवनिर्मित ज्येष्ठ नागरिक भवन उद्घाटन भएको हो ।

भवन उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मान गरेको बतादै ज्येष्ठ नागरिकलाई भेला गर्दै धार्मिक प्रवचन, महायज्ञ, पुराना अनुभव साटासाट, गीता, रामायण, महाभारत जस्ता धार्मिक पुस्तकको पाठ गराउँदै वृद्धवृद्धालाई सधैँ खुशी राख्नु पर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले ज्येष्ठ नागरिक जम्मा भएर समय व्यतित गर्न भवन उपयुक्त हुने विचार राख्नुभयो । ज्येष्ठ नागरिकका बाँकी जीवनलाई कसरी सहज बनाउने भन्ने विषयमा समाजले समेत सोच्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

सो अवसरमा जग्गा खरिद गर्ने लोकराज शर्मा र जग्गा दाता धनकुमारी पाध्या लगायतलाई सम्मान गरिएको थियो । मोदी गाँउपालिका ७ राम्जाका वडा अध्यक्ष दुर्गा प्रसाद गौतमले ज्येष्ठ नागरिक जिउँदा भगवान हुन् उनीहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको ज्ञान यही भवनबाट युवा पुस्तामा आदन प्रदान गर्ने व्यवस्था मिलाउने बताउनुभयो । ४ आना जग्गामा निर्मित भवन ३५ लाखको लागतमा सम्पन्न भएको हो ।

मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले गर्नुभएको हो । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी विभिन्न पार्टीका नेता तथा कार्यकर्ता महिला समुह लगायत स्थानीयको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *