मोदी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १ हजार ३ सय ५८ जनाले सेवा लिएका छन् । पोखरा व्यवसायी महिला क्लबको आयोजना, मोदी गाउँपालिकाको समन्वय तथा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।
चैत ८ गतेदेखि १३ गतेसम्म गाउँपालिकाका आठवटा वडामा सञ्चालन गरिएको उक्त शिविरमार्फत सेवा ग्राहीले आँखा जाँच तथा स्क्रिनिङ सेवा लिएका थिए। जाँचका क्रममा ५१ जनामा मोतिबिन्दु देखिएकोमा भुकताङ्ले स्वास्थ्य चौकीमा २६ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको जानकारी दिइएको छ।
शिविरको समापन कार्यक्रम मोदी गाउँपालिका वडा नं. १ का वडा सदस्य लोकमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने उपस्थित रहेको थियो साथै, हिमालयन आँखा अस्पतालकी अप्थाल्मोलजिस्ट डा. अन्जु गुरुङ, पोखरा व्यवसायी महिला क्लबकी उपाध्यक्ष धनिश्वरी पराजुली तथा सदस्य लक्ष्मी गुरुङको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख कृष्ण अर्यालले गर्नुभएको थियो। यस किसिमका स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको गाँउपालिकाले जनाएको छ।
