मोदी गाउँ पालिकाले अत्यावश्यक सेवा बाहेकका सबै करार कर्मचारीको करार सम्झौता रद्ध गरेको छ । असार १५ गतेको गाँउ सभाको सत्रौ अधिवेशनवाट मोदी गाँउपालिकाको संगठन तथा व्यबस्थापन सर्वेक्षण, २०८२ पारित भई लागू गरेको थियो । गाँउसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) बमोजिमको दरबन्दी तेरिजमा उल्लेख भएका पद बाहेक गाँउ कार्यपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारी तथा अत्यावश्यक सेवाहरु एम्बुलेन्स र खोप कोल्डचेन तर्फ कार्यरत बाहेकका स्वास्थ्यकर्मीको सेवा करार सम्झौता रद्द गरी २०८२ श्रावण १ गते देखि सेवावाट हटाउने निर्णय गरिएको गाउँ पालिकाले जनाएको छ ।
कार्यालयको आवश्यकता, कार्यबोझ र औचित्यताको आधारमा रिक्त दरबन्दीमा प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नहुने वेला सम्मको लागि अत्यावश्यक पदहरुमा मात्र सेवा करारमा कर्मचारी नियुक्ति गर्ने सूचनामा जनाइएको छ ।
आफ्नो मातहतका शाखा, स्वास्थ्य चौकी र वडा कार्यालयहरुलाई श्रावण १ गते देखि करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगर्न नगराउनु हुन समेत गाउँ पालिकाले अनुरोध गरेको छ । सूचनाको प्रतिकूल हुने गरी कार्य गरेको/गराइएको पाइएमा स्वयम् जिम्मेवार हुने व्यहोरा समेत उल्लेख गरिएको छ ।
संघीय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरुको हकमा भने सम्बन्धित कार्यक्रमको बजेट सिमाको अधिनमा रही कार्यकम कार्यन्वयन कार्यविधि/निर्देशिका बमोजिम हुने गाउँ पालिकाले जनाएको छ ।
गाउँ पालिकामा आवश्यकता भन्दा बढी कर्मचारी राखिएको र ठूलो रकम तलब भत्तामा खर्चिदा विकास निर्माणमा समेत असर परेको भन्दै आलोचना हुँदै आएको थियो ।