रास्वपाको थिति बसाल्ने सङ्कल्प: नीतिगत प्रस्थानका एक सय आधार

काठमाण्डौ ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावी मार्गचित्रका रूपमा ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ।

‘थिति बसाल्ने सङ्कल्प’ नारा रहेको बाचापत्रमा मुलुकको समग्र रूपान्तरणका लागि १०० वटा नीतिगत प्रस्थानका आधारहरू प्रस्तुत गरिएको छ।

बिहीबार सुर्खेतमा आयोजित समारोहमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेले संयुक्त रूपमा यो दस्ताबेज सार्वजनिक गरेका हुन्।

रास्वपाले वि.सं. २०४६ सालदेखि महत्त्वपूर्ण सार्वजनिक पदमा आसिन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक परिषद् र न्याय परिषद् जस्ता निकायहरूलाई दलीय भागबन्डाबाट मुक्त गरी स्वतन्त्र बनाउने नीति लिएको छ।

सरकारी सेवाका लागि अब लाइन बस्नु नपर्ने गरी डिजिटल सर्भिस डेलिभरीको अवधारणा ल्याइएको छ। सबै नेपालीको एकीकृत राष्ट्रिय डाटाबेस निर्माण गर्ने र राष्ट्रिय अभिलेखलाई सुदृढ बनाउँदै अनलाइनबाटै सेवा प्रवाह गर्ने रास्वपाको बाचा छ।

रास्वपाले कुनै पनि प्रकारका भ्रातृ सङ्गठन निर्माण नगर्ने स्पष्ट पारेको छ। सरकारी सेवाभित्रका ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउने नीति वाचापत्रमा उल्लेख छ।

संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्ने र विज्ञ मन्त्रीको अवधारणालाई प्राथमिकता दिने रास्वपाको योजना छ। यस्तै, सरकार सञ्चालन भएको तीन महिनाभित्र संविधान संशोधनका प्रस्तावहरूमाथि बहस पत्र तयार पारी छलफल चलाउने प्रतिबद्धता गरिएको छ।

आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने र ऊर्जा निर्यातका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल गर्ने लक्ष्य राखिएको छ। निजी क्षेत्रको मनोबल उकास्न डुइङ बिजनेस वातावरणमा सुधार गर्ने र कार्टेलिङ तथा सिन्डिकेटको पूर्ण अन्त्य गर्ने बाचापत्रमा उल्लेख छ।

दलित समुदायमाथि विगतदेखि हुँदै आएको भेदभावप्रति राज्यको तर्फबाट औपचारिक रूपमा क्षमायाचना गर्ने र उनीहरूको उत्थानका लागि ठोस कानुनी सुधार गर्ने रास्वपाले जनाएको छ।

सरकारी शिक्षाको गुणस्तर सुधार र प्रत्येक प्रदेशमा विशिष्टीकृत स्वास्थ्य केन्द्रहरूको स्थापनालाई पनि प्राथमिकता दिइएको छ।

हिमालय क्षेत्रलाई विश्वस्तरको पर्वतारोहण प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र खेलकुदलाई मनोरञ्जन मात्र नभई राष्ट्रिय गौरव र आर्थिक समृद्धिको आधार बनाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *