अझै खुलेन पातीचौर लप्सिबोट सडक , यात्रुलाई सास्ती

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको तीन वटा वडाहरु लाई केन्द्र संग  जोड्ने  पातीचौर – लप्सीबोट  सडक अझै खुल्न सकेको छैन । गत असार २६ गतेको भीषण वर्षाको कारण कोरूँगामा गएको ठूलो पहिरोले झण्डै दुई किलो मीटर पक्की सडक पुरिएको थियो । उक्त सडकको जरुवा, पानी खोल्सा, कोरूँगा लगायतका स्थानमा ठाउँ ठाउँमा कतै पहिरोले पुरिएको छ भने कतै बाढीले सडक बगाएको छ ।

एक महिना भै सक्दा पनि सो सडक खुलाउने कुनै प्रयास भएको छैन । लामो समय सडक अबरुढ हुँदा यात्रुलाई निकै सास्ती भएको छ भने अत्यावश्यक सामान ढुवानीमा समस्या भएको छ । गाउँबाट आएका सवारी साधन कोरुंगामा थन्किएका छन् । त्यहाँ बाट झण्डै दुई किलोमिटर पैदल हिंड्नु पर्ने वाध्यता रहेको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीहरूलाई समयमै स्वास्थ्य संस्थाहरुमा पुर्याउन समेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताए । गाउँमा एम्बुलेन्स जाने अवस्था छैन ।  सिकिस्त  बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानु परेको छ । तिमिल्सिनाले भने ।

दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकहरुले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिंड्नु परिरहेको छ । पसिना पुछ्दै उकालो चढ्दै गरेका एक शिक्षकले गुनासो गरे ।

पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सुचारु गर्न कठिन भए पछि वैकल्पिक मार्गको रूपमा बेतेनी गौडा राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष बेल बहादुर कार्कीले बताए । तर उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएको कारण सवारी साधन सञ्चालनमा समस्या भएको छ । वैकल्पिक सडक बनेपछि सवारी साधन लिएर आउँछन् तर सडक पार गर्न निकै कठिन हुने गरेको छ । कति त फर्किएर जान्छन् । स्थानीय मिठु चापागाईले भने । केही स्थानमा ग्रावेल विछयाई दिने हो भने सवारी साधन सजिलै पार हुने अवस्था छ तर गाउँ पालिकाको ध्यान पुग्न नसकेको स्थानीयले गुनासो व्यक्त गरे ।

स्थानीय बासिन्दा राजेश गिरी भन्छन् –  करिब डेढ किलो मीटर को सडक  दुई चार ठाउँमा सामान्य मर्मत गरी दिने हो भने नियमित गाडी चल्न सक्ने अवस्था हुँदा हुँदै पनि बेवास्ता गरिएको छ । वैकल्पिक मार्ग लाई पक्की सडकको रूपमा स्तरोन्नती गर्न सके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उनले बताए । थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय , प्रदेश र केन्द्र सरकारले लगानी गर्नु पर्ने स्थानियको माग रहेको छ ।

सडक निर्माण र मर्मतका बेला दिगोपनालाई ख्याल नगर्दा  वर्षेनी समस्या हुने गरेको जानकारहरु बताउँछन् । कमजोर भुधरातलमा जथाभावी सडक खन्दा वर्षा याममा सडक पहिरो र बाढीको चपेटामा पर्ने गरेका छन् ।दिगो विकासको अवधारणा र मर्म अनुरूप विकास निर्माणका कार्यहरू सञ्चालन नगर्दा विकासका नाममा विनास हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *