पर्वत ।
जिल्लाको मोदी गाउँपालिकामा डेंगु संक्रमित बिरामीहरुको संख्या अन्य पालिकाको तुलनामा बढ्दै गए पछि नियन्त्रण अभियान शुरू गरिएको छ । यसै सन्दर्भमा गाउँपालिका कार्यालयको आयोजनामा सोमबार डेंगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणको लागी लामखुट्टेको बासस्थान खोजौ र नष्ट गरौ अभियान संचालन गरिएको हो ।
डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्नुपूर्व किटजन्य रोगसम्बन्धि अभिमुखीकरण कार्यक्रम मोदी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका डेंगु रोग नियन्त्रण कार्यक्रमका फोकल व्यक्ति तेज प्रसाद सुवेदी र मोदी गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक प्रकाश चन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा टोलबिकास संस्थाका प्रतिनिधिहरु, स्थानीय युवा, नेपाल प्रहरी र पालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।
लामखुट्टेको बासस्थान खोजौ र नष्ट गरौ अभियान अन्तर्गत आज तिलाहार वडा कार्यालय देखि बाजुङ पातिचौर सम्म लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने सन्देशमुलक कार्य सम्पन्न भएको गाउँ पालिकाले जनाएको छ । अब देखि प्रत्येक हप्ता लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने कार्य निरन्तर रुपमा संचालन गरिने जन स्वास्थ्य निरीक्षक सुवेदीले जानकारी दिनु भयो।