काठमाडौं ।
आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदैछ। वैदिक परम्पराअनुसार ज्ञान र चेतनाका प्रतीक वेद व्यासको जन्मजयन्तीका रूपमा यस दिनलाई मनाउने गरिन्छ। गुरु पूर्णिमाका दिन आफ्ना गुरुप्रति सम्मान र आदर प्रकट गर्ने प्रचलन छ।
आज बिहानैदेखि विभिन्न विद्यालय, विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान तथा मठमन्दिरहरूमा गुरुहरूको सम्मानमा विशेष कार्यक्रमहरू आयोजना भइरहेका छन्। विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई फूलमाला, अबिर, टीका, फलफूल र दक्षिणासहित सम्मान गरेका छन्। ज्ञान, सीप र नैतिक शिक्षा प्रदान गरी जीवनको मार्गनिर्देशन गर्ने गुरुहरूको भूमिकाको उच्च कदर गर्दै यो पर्व मनाइन्छ।
काठमाडौंका विभिन्न शैक्षिक संस्थाहरूमा विद्यार्थी र पूर्वविद्यार्थीहरूले भेला भई आफ्ना गुरुप्रति कृतज्ञता ज्ञापन गरेका छन्। यस दिन गुरुहरूले पनि विद्यार्थीहरूलाई असल मार्गमा लाग्न र राष्ट्र निर्माणमा योगदान पुर्याउन प्रेरणा दिएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज गुरु पूर्णिमाका साथै व्यास जयन्ती पनि रहेको जनाएको छ। व्यास ऋषिले चार वेद, अठार पुराण र महाभारतजस्ता महत्वपूर्ण ग्रन्थहरूको रचना गरी मानव समाजलाई ठूलो योगदान पुर्याएकाले उहाँको सम्झनामा यो दिनलाई व्यास जयन्तीका रूपमा पनि मनाइन्छ।
गुरु पूर्णिमाले गुरु र शिष्यबीचको पवित्र सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ। यो पर्वले समाजमा ज्ञानको महत्व र गुरुको स्थानलाई पुनःस्थापित गर्न प्रेरणा प्रदान गर्दछ।