पोखरा।
पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको २५औँ साधारण सभाले यो नीति तथा कार्यक्रम पारित गरेको हो।
बैठकले विश्वविद्यालयका विभिन्न नियमावलीहरू, जस्तै शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५, आर्थिक नियमावली, २०५५, र सेवा आयोग तथा पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ मा संशोधन प्रस्तावहरू पनि पारित गरेको छ।
कुलपति ओलीले विश्वविद्यालयलाई थप अनुसन्धानमूलक र प्रतिस्पर्धी बनाउन जोड दिँदै स्वदेशमै उत्कृष्ट उच्च शिक्षा प्रदान गर्न सकिने भावनालाई साकार पार्नुपर्ने बताए। सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले २१औँ शताब्दीका लागि आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित हुन आग्रह गरे।
उपकुलपति प्रा.डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी विश्व बजारको मागअनुसारको शिक्षा प्रदान गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए।
हाल पोखरा विश्वविद्यालयअन्तर्गत चार संकायहरूमा चार आंगिक महाविद्यालय, तीन संयुक्त आंगिक महाविद्यालय र ५८ सम्बन्धनप्राप्त महाविद्यालयहरू सञ्चालनमा छन्। यी संस्थाहरूमा ६८ शैक्षिक कार्यक्रमहरूमा कुल ३४ हजार ६७९ विद्यार्थी अध्ययनरत छन्।