आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।
देवीपुराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको बाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।
शक्तिस्वरूप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्केण्ड्य पुराणमा उल्लेखित छ । मार्केण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।
आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इञ्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असूरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असूरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।