पर्वत ।
यस वर्षको एसइइमा मोदी गाउँ पालिकाका ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी २७४ विद्यार्थी रहेकोमा १५९ विद्यार्थी उत्तीर्ण भएका हुन् । उत्तीर्ण विद्यार्थी मध्ये १३ जनाले ३.६ देखि ४ जिपिए, ६६ जनाले ३.२ देखि ३.६ , ५६ जनाले २.८ देखि ३.२, २४ जनाले २.४ देखि २.८ र ११६ जनाले एन जी प्राप्त गरेका छन् ।
बिहीबार प्रकाशित नतिजा अनुसार सहभागी १२ विद्यालय मध्ये वडा नं २ पातीचौरमा रहेको देउपुर नमुना आबासीय माविका ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सामुदायिक तर्फ वडा नं ८ मा रहेको जन सिद्ध माविले ८५.७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । त्यसैगरी वडा नं ६ मा रहेको नव जागृत माविका ७०.८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी विद्यार्थीहरू मध्ये नवजागृत माविका सुशील पौडेलले ३.८४ जीपिए प्राप्त गरी छात्र तर्फ प्रथम भएका छन् भने छात्रा तर्फ सोही विद्यालयकी प्रकृति तिमिल्सिनाले ३.८३ जिपिए सहित द्वितीय भएकी छन् । उनासी जना विद्यार्थी सहभागी गराएको नव जागृत मावि बाट ६ जनाले ३.६ देखि ४ जिपीए प्राप्त गरेका छन् ।
परीक्षामा भुक देउराली मावि बाट १४ जना सहभागी भएकोमा १ जना परीक्षार्थी मात्र पास भएका छन् । नव ज्योति थम मावि सेरा बेंसीका १२ जनामा ३ जना, हिमालय मावि देउरालीबाट ११ जनामा ४ जना, महेन्द्र शिखरी मावि , बाजुङ बाट २४ जनामा ४ जना , पशुपति मावि राम्जाबाट २० जनामा ९ जना, जन नेत्र मावि देउपुर बाट सहभागी २९ जनामा १४ जना , सालिजा मावि लेस्पार बाट सहभागी १२ जनामा ४ जना मात्र उत्तीर्ण भए ।
त्यसै गरी तुलोदय मावि गिज्यान बाट ७ जना सहभागी भएकोमा ४ जना , सरस्वती मावि पोखरे बाट २७ जना मध्ये १५ जना उत्तीर्ण भएका छन् । जनसिद्ध मावि चित्रेले १४ जनामा १२ जना विद्यार्थी उत्तीर्ण गराएको छ । देउपुर नमुनाका २५ विद्यार्थी मध्ये २३ जना पास भएका छन् ।
यस पटकको परीक्षामा ४० भन्दा बढी विद्यार्थी सहभागी गराउने एक मात्र विद्यालय नव जागृत मावि रह्यो । अन्य विद्यालयहरुबाट परीक्षामा सहभागी विद्यार्थी संख्या न्यून रहेको छ । गाउँ पालिकामा रहेका जम्मा १२ माविहरु मध्ये ६ वटा विद्यालयहरुले १५ भन्दा कम विद्यार्थी परीक्षामा सहभागी गराएका थिए । परीक्षामा सहभागी ११ सामुदायिक विद्यालयमा ७ ओटा विद्यालयको उत्तीर्ण प्रतिशत ५० भन्दा कम रहेको शिक्षा तथा खेलकुद उपशाखाले जनाएको छ ।
जन सिद्ध मावि चित्रे, नब जागृत मावि तिलाहार, तुलोदय मावि गिज्यान र सरस्वती मावि पोखरेले मात्र ५० प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण गराएका छन् । यो नतिजाले मोदीका अधिकांश विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर रहेको तथ्य उजागर गरेको छ । सम्बन्धित निकाय तथा सरोकारवालाहरुले बेलैमा शैक्षिक सुधारका कदम चाल्न जरुरी देखिएको जानकारहरु बताउँछन् ।