काठमाण्डौ ।
एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ ।
समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।
महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश बाहिरिएको छ । सेमिफाइनल र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक समेत हात पार्नेछ ।
सात टोली सहभागी एसियाड महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए ।