
पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । विगतमा विशेषगरी ः पुस, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको मोदी गाँउपालिका २ निवसी मिठु तिमिल्सिनाले बताउनुभयो । ‘पहिले पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हराउँदै गएको छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
चोखो निधोमा परालको गुन्द्री
उहाँका अनुसार हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्री आवश्यकता पर्छ । ‘चोखो निधोमा परालको गुन्द्री नभइ हुँदैन,’ उहाँले भन्नुभयो, ‘साथमा पैसा भए अहिले बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइन्छ । त्यही किन्छन ्। प्रयोग गर्छन् । गुन्द्री बुन्ने, प्रयोग गर्ने चलन त हराउँदै गएको छ ।’उहाँका अनुसार तुलनात्मक रुपमा प्लास्टिकको गुन्द्री चिसो हुन्छ । विगतमा त झनै गाउँघरमा पाइने बाबियोको डोरीको तान लगाएर गुन्द्री बुन्ने चलन रहेको स्मरण गर्नुहुन्छ, लमजुङकी पूर्णीमाया परियार । उहाँका अनुसार अहिले कहीँकतै गुन्द्री बुन्दा सुतारीको डोरी प्रयोग गरिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री धेरै राम्रो र टिकाउ हुने उहाँ बताउनुहुन्छ । ‘हाम्रो पालामा त बाबियो काटेर । बाबियो बाटेर तान लगाइ गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै छ । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ उहाँले भन्नुभयो ।
नयाँ गुन्द्री बिछ्याउँदा इज्जत
पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो। तर अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ ।
गुन्द्री बुन्न जान्नेको सङ्ख्यामा कमी
गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूरा गर्नुमात्र नभइ आत्मनिर्भर पनि बन्नु हो । गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्यौली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको छ । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या निकै कम छ । नेपाली समाजमा विवाह गरेको घर तथा कोही बितेको एक वर्ष नपुगेसम्म गुन्द्री बुन्न नहुने धार्मिक परम्परा रहिआएको छ ।आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकोमा पुराना पुस्तालाई दुःख लाग्छ । यसको संरक्षण गर्नु जरुरी छ ।