पर्वत ।
नेपालीको महान पर्व बिजयादशमी तथा शुभ दिपावली नजिकिदै गर्दा मोदी गाँउपालिकाका स्थानीयहरु आफैले बाटो मर्मत सम्भार गर्न जुटीरहेका छन् । चाडपर्व सुरु भएको र सहर तथा विदेशमा रहेका स्थानीयहरु गाउँ प्रवेश गर्ने भएकाले उनीहरुलाई सहज बनाउन बाटो मर्मत गरिएको छ ।
पातिचौर,घुरुङसेरा,बाजुङ,ज्यामीरे हुदै क्याङ जोड्ने मोटरबाटो स्थानीयहरुको पहलमा सरसफाइ तथा मर्मत गरिएको मोदी गाँउपालिका वडा नम्बर २ देउपुरका निवर्तमान वडा अध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो । चाडपर्वको समयमा गाउँ प्रवेश गर्नेको संख्या बढ्ने भएकाले आवातजावतमा सहज बनाउन मर्मत सम्भार गरिएको स्थानीयले बताएका छन ।
गाउँगाउँ पुग्ने सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन हुन नसकेकाले बाटो मर्मत गरिएको र दशैंतिहार मनाउन आउनेहरुलाई सवारीमा आउन सहज होस् भनेर स्थानीय आफै जुटेर बाटो मर्मत गरेको जनाईएको छ ।
केही हप्ता पहिले सो सडक खण्डको पाती खोलामा स्थानीयले काठेपुल समेत निर्माण गरेका थिए । तीन ओटा ओडाका बासिन्दाहरु आवत जावत गर्ने उक्त सडक स्तरोन्नती हुन नसक्दा स्थानियहरुले सास्ती बेहोर्नु परी रहेको छ ।