मोदी, पर्वत ।
स्नायु प्रणालीसम्बन्धी रोग (डिस्टोनिया)बाट ग्रसित पर्वतको मोदी गाउँपालिकाका एक युवकको उपचारमा आर्थिक सहयोग गर्न उनको परिवारले अपिल गरेको छ।
मोदी गाउँपालिका–८ चित्रेको नेपाने घर भई हाल मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएका २१ वर्षीय दिपेश गुरुङको उपचार भारतमा लगेर गर्नुपर्ने अवस्था आएपछि परिवारले उनको जीवन रक्षा गर्नका लागि आर्थिक सहयोगको अनुरोध गरेको हो।
स्थानीय समाजसेवी जयप्रकाश गुरुङका अनुसार दिनेश १२ वर्षको हुँदा स्वास्थ्यसम्बन्धी समस्या देखा परेको थियो। लगत्तै पोखरा र काठमाडौंका विभिन्न अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराउँदा नशा सम्बन्धी समस्या रहेको चिकित्सकहरूले बताएका थिए।
नसासम्बन्धी रोगको उपचार गरिरहँदासमेत स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप परीक्षण गर्दा करिब पाँच महिना अगाडि मात्रै दीपेशमा डिस्टोनिया रोग रहेको पत्ता लागेको हो।
‘यो परिवारले निकै दुःख पाएको छ। त्यो बाबु १२ वर्षको हुँदाबाट स्वास्थ्यमा समस्या देखिएको हो। पोखरा र काठमाण्डौका धेरै अस्पतालमा गएर थुप्रो पैसा खर्च गर्दा पनि रोग निको भएन,’ उनले भने, ‘लगभग पाँच महिना अगाडि मात्रै डिस्टोनिया भन्ने रोग लागेको पत्ता लाग्यो। पहिले त अवस्था बरु ठिकै थियो, अहिले त अवस्था नै गम्भीर बनेको छ।’
उनको उपचार र त्यससँग सम्बन्धित औषधिहरू नेपालमा सहजै नपाइने भएका कारण नेपालका चिकित्सकहरूले दीपेशलाई भारतमा लगेर उपचार गराउन सल्लाह दिएको आमा तारादेवी गुरुङले बताइन्।
परिवारको अपिल सँगै दिपेशको उपचारको लागि सहयोग आउने क्रम शुरु भएको छ ।
पीडितको उपचारका लागि पर्वत चित्रे घर भई हाल रोजगारीको शिलशिलामा हङकङमा रहनु भएकी जगन गुरुङको सक्रियतामा संकलित रकम ८० हजार ५२६ रुपैयाँ गत आइतवार परिवारका सदस्यलाई प्रदान गरिएको थियो ।
