काठमाण्डौ ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको देशको जनगणनाको नतिजामा सात लाख ७१ हजार नौ सय ९८ मानिस छुट्न गएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको गणना जाँच सर्वेक्षणमा यस्तो देखिएको हो ।
श्रम अध्ययन कार्यक्रमबाट जनगणनाको पूर्णता र शुद्धता मापन गर्दा सहरी क्षेत्रमा पाँच लाख ८५ हजार सात सय ८२ र ग्रामीण क्षेत्रमा एक लाख ८६ हजार दुई सय १६ जना छुट्न गएको कार्यालयले हालै सार्वजनिक गरेको गणना जाँच सर्वेक्षण (पिइएस) प्रतिवेदनमा उल्लेख छ । जनगणनामा २.७३ प्रतिशत मानिस छुट्न गएको सर्वेक्षणले देखाएको छ ।
आधिकारिक रूपमा नेपालको जनसंख्या राष्ट्रिय जनगणना ०७८ ले यकिन गरेको दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ नै कायम हुने विभागले जनाएको छ ।
जनगणनाअनुसार पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१, महिलाको एक करोड ४९ लाख ११ हजार २७ र अन्य लिंगीको संख्या दुई हजार नौ सय २८ छ । परिवार संख्या देशभर ६६ लाख ६० हजार आठ सय ४१ छ ।
तथ्यांकअनुसार सक्रिय जनसंख्या ५७ बाट ६२.९६ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै जनसंख्या काठमाडौंको रहेको पनि जनगणनाले देखाएको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको छ भने सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा छ । त्यस्तै, हिमाली क्षेत्रको जनसंख्या १७ लाख ७२ हजार नौ सय ४८, पहाडको एक करोड १७ लाख ५७ हजार ६ सय २४ र तराईको जनसंख्या एक करोड ५६ लाख ३४ हजार ६ पुगेको छ ।
प्रदेशअनुसार कोसीमा ४९ लाख ६१ हजार चार सय १२, मधेसमा ६१ लाख १४ हजार ६ सय, बागमतीमा ६१ लाख १६ हजार आठ सय ६६, गण्डकीमा २४ लाख ६६ हजार चार सय २७, लुम्बिनीमा ५१ लाख २२ हजार ७८, कर्णालीमा १६ लाख ८८ हजार चार सय १२ र सुदूरपश्चिममा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या छ ।