पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा रहेको जननेत्र माविमा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई यहाँका एक समाज सेवी व्यक्तिले छात्रवृत्ति स्वरूप करिब बीस हजार राशी बराबरको स्टेशनरी सामान वितरण गर्नु भएको छ ।
मोदी गाउँ पालिकाकाे पातिचौर निवासी समाजसेवी व्यक्तित्व भीम प्रसाद चापागाईंले स्थापना गर्नु भएको अक्षयकोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई आज मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रति विद्यार्थी आधा दर्जन कापी र कलम छात्रवृत्ति स्वरुप प्रदान गर्नु भएको हो ।
समाजसेवी चापागाईले विगत एक दशक देखि निरन्तर विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गर्दै आउनु भएको छ । गरीब तथा विपन्न परिवारका विद्यरथीहरुको पठन पाठनमा सहयोग पुगोस् भन्ने हेतुले आफूले अक्षयकोषको स्थापना गरी हरेक वर्ष सहयोग गरी रहेको उहाँले बताउनु भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदी गाउँ पालिकाका उपाध्यक्ष विमल लामिछानेले व्यक्तिगत रूपमा भएपनि विद्यार्थीहरुको पढाइमा सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्व बहन गरेकोमा कार्यक्रमको प्रशंशा गर्नु भयो । उपाध्यक्ष लामिछानेले शैक्षिक विकासको लागि प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरू मार्फत गाउँ पालिकाले प्रयत्न गरिरहेको बताउँदै सफल कार्यान्वयनका लागि सबै क्षेत्रको सहयोग उत्तिकै आवश्यक पर्ने बताउनु भयो ।
कार्यक्रममा मोदी गाउँ पालिकाका वडाध्यक्ष बेल बहादुर कार्की क्षेत्री, विव्यस पूर्व अध्यक्ष भूमिराज तिमिल्सिना, पूर्व सहायक प्रधानाध्यापक राम प्रसाद गौँडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईं काे अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक भूमिराज शर्माले स्वागत तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

