पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ मा रहेको जन नेत्र माविको ६७ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० सालको बार्षिक परीक्षामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। त्यसै गरी विभिन्न क्षेत्रमा उच्च ओहोदामा पुगेका भूतपूर्व विद्यार्थीहरू, संस्थापक तथा पूर्व बिव्यस अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, डाक्टर, इन्जिनियर, प्राध्यापक, कर्मचारी, सेना, प्रहरी,शिक्षक, समाजसेवी संघसंस्था लगायत सत्तरी जना भन्दा बढी व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य माननीय सांसद भक्त बहादुर कुँवरले सामुदायिक शिक्षाको सुधारका लागि सबै पक्षले लगानी बढाउनु पर्ने विचार व्यक्त गर्नु भयो। बालबालिकाहरूले पढ्दै, रमाउँदै ,सिक्दै, कमाउँदै अघि बढ्ने वातावरण निर्माणमा जोड दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख मतिलाल चपाईले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय प्रयासबाट मात्रै शिक्षामा सुधार गर्न सकिने धारणा राख्नु भयो । त्यसै गरी मोदी गाउँ पालिकाकाे सामाजिक विकास शाखा प्रमुख दिनेश शर्मा पौडेलले शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउँदै उत्पादनमूलक कार्यहरुमा जोडेर लैजानु पर्ने आवश्यकता रहेको औँल्याउँदै आबासीय विद्यालयको अवधारणालाई अगाडि बढाउन प्रयास गरिने विचार व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा भूतपूर्व विद्यार्थीहरूकाे तर्फबाट उप प्राध्यापकहरू प्रेम चपाई, यम प्रसाद शर्मा, इन्स्पेक्टर थानेश्वर चापागाईं, प्रशासकीय अधिकृत मातृका तिमिल्सिना, डाक्टर नमिता पौडेल लगायतले विद्यालयको प्रगतिको निम्ति शुभकामना व्यक्त गर्नु भएको थियो।
त्यसै गरी पूर्व शिक्षक देवराज गिरी, पूर्व प्रअ प्रेम शर्मा सुवेदी र दुर्गा प्रसाद पौडेल, पूर्व विव्यस अध्यक्ष कृष्ण बहादुर गुरुङ, वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्री, वडाध्यक्ष बेलबहादुर कार्की लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले, प्रभातफेरी, मार्चपास, लोक भजन, पर्यावरण सम्बन्धी चेतनामूलक नाटक, गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उमेर हदका कारण अवकाश हुनु भएका कार्यालय सहयोगी दण्डपानी जैसी, शिक्षकहरू सुबास क्षेत्री र सागर तिमिल्सिनालाई विदाई गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरुलाई स्वागत विद्यार्थी स्नेहा तिमिल्सिनाले गर्नु भएको थियो भने सञ्चालन शिक्षकहरू भूमिराज शर्मा, देवेन्द्र प्रसाद चापागाईं र देवेन्द्र गिरीले गर्नु भएको थियो ।