पर्वत ।
जिल्लाको मोदी गाउँपालिका वडा नं ०६ तिलाहार स्थित डिमुवा- राम्जा सडक खण्डमा पर्ने लिदी खोला पुलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ। पुर्वाधार विकास कार्यालय पर्वत र कस्तुरी कन्स्ट्रक्सन सर्भिस विच गत वर्षको असोजमा डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।सम्झौता भएको एक वर्ष नपुग्दै पुल निर्माण भई सोही पुल बाट सवारी साधनहरू गुड्न थालेका छन् ।
स्थानीय सडक पुल कार्यक्रम /प्रादेशिक सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो । नव निर्मित पक्की पुलको लम्बाई १५ मीटर रहेको छ भने भारवहन क्षमता ७० टन रहेको छ । उक्त पक्की पुल र सो संगै जोडिएको ३१ मीटर ढलान गरिएको सडक सहितको लागत करिब तीन करोड रहेको छ ।
लिदी खोलामा पुल नहुँदा वर्षा याममा सवारी साधनहरु सञ्चालनमा कठिनाई हुने गरेको थियो । अब राम्जा देखि गाउँ पालिकाको केन्द्र सम्म यातायात सहज भएको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि र निर्माण कम्पनीको सक्रियताका कारण निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउन सकिएको वडाध्यक्ष दिपेन्द्र लामिछानेले जानकारी दिनु भयो । पुलसंगै जोडिएको अप्ठ्यारो स्थानमा स्थानीय सरकारको लगानीमा ३१ मीटर सडक समेत ढलान गरिएको वडाध्यक्ष लामिछानेले बताउनु भयो ।
द्रुत गतिमा पुल निर्माण सम्पन्न भएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् । पुल निर्माणबाट मोदी गाउँ पालिकाका तिलाहार, राम्जा र चित्रे र कुस्मा काे पकुवा, आर्थर डाँडा खर्कका बासिन्दाहरु प्रतक्ष्य लाभान्वित हुने भएका छन् ।
