देउपुरमा आधारभूत तहको शैक्षिक सुधारका लागि छलफल तथा अन्तरक्रिया

पर्वत ।
जिल्लाको मोदी गाउँ पालिकाको वडा नं २ अन्तर्गतका आधारभूत तहमा विद्यालयको वर्तमान अबस्था र सूधार तथा समस्या समाधानका उपायहरु सम्बन्धमा शिक्षक तथा जनप्रतिनिधिहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार वडा नं २ को कार्यालय देउपुर कडेनमा सम्पन्न भएको छ ।
वडा कार्यालयद्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आधारभूत शिक्षाको सुधारका लागि शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुका बालबालिकाहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्यापन गराउने व्यवस्था गर्न आवाज उठाएका छन् । सामुदायिक विद्यालयप्रति अपनत्वको भावना बृद्धि गर्न, अभिभावक वर्गमा विश्वासको वातावरण सिर्जना गर्न तथा गुणस्तर सुधार गर्न शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुले नै पहल लिनु पर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयमा कक्षागत दरबन्दीको व्यवस्था हुन नसकेको, विषयगत तालिम तथा पाठ्क्रम प्रबोधिकरण हुन नसकेको, सिकाइमा प्रविधिको प्रयोग गर्ने सीपमा कमी भएको, बाल कक्षा र १ कक्षाको बीचमा एउटा कक्षा थप गर्नु पर्ने आवश्यकता रहेको जस्ता समस्याहरु उठाएका थिए । वडास्तरीय अतिरिक्त क्रियाकलापहरुको संचालन, अनुगमन, सुपरिबेक्षण जस्ता कार्यहरुलाई प्रभावकारी रुपले संचालन गर्नु पर्ने सुझाबहरु दिइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै मोदी गाउँ पालिका अध्यक्ष हिरादबी शर्माले गाउँपालिकाले प्रधानाध्यापकहरुको लागि अतिरिक्त भत्ताको व्यवस्था, शैक्षिक अवलोकन भ्रमण, स्थानीय पाठ्यक्रम निर्माण लगायतका कार्यहरु अगाडि बढाइरहेको बताउनु भयो । उहाँले शिक्षक समुदायले आफ्नो कर्तव्य बोध गर्दै इमान्दारिताका साथ आफैबाट सुधारको थालनी गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । शैक्षिक कार्य योजना सहित आफू नमूना बनेर बालबालिकालाई सिकाउन सकेमात्र सिकाइमा सुधार गर्न सकिने विचार व्यक्त गर्नु भयो । साथै गाउँ पालिकाले नयाँ योजना निर्माण गर्न लागिरहेको सन्दर्भमा शिक्षा सुधार तथा विकासको लागि आवश्यक सुझाब दिन पनि उहाँले आग्रह गर्नु भयो ।
सोही कार्यक्रममा बोल्दै निवर्तमान वडाध्यक्ष विकास तिमिल्सिनाले अभिभावक शिक्षालाई प्रभावकारी बनाउँदै विद्यालय र समुदायबीचको सम्बन्धमा सुधार ल्याउनु पर्ने विचार व्यक्त गर्नु भयो । उहाँले बालमैत्री शिक्षामा जोड दिँदै सिकाइमा प्रविधिको प्रयोग गर्न शिक्षक सक्षम हुनुपर्ने बताउनुभयो ।
त्यसै गरी वडाध्यक्ष वेलबहादुर कार्कीले शैक्षिक सुधारका लागि विद्यालयहरुलाई आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्न वडाले सक्दो प्रयास गर्ने बताउँदै शिक्षक तथा वडाका जनप्रतिनिधिहरुलाई आत्म विश्वासका साथ कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेबारी बहन गर्न अनुरोध गर्नु भयो । उहाँले वडाभित्रका शैक्षिक गतिविधिहरुको प्रभावकारी अनुगमनको व्यवस्था गरिने जानकारी गराउनु भयो।
वडा नं २ देउपुर अन्तर्गतका आधारभूत विद्यालयमा कार्यरत ४८ जना शिक्षक तथा जनप्रतिनिधिहरुबीच भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहजीकरण जननेत्र माविका सहायक प्रधानाध्यापक भूमिराज शर्माले गर्नु भएको थियो । सो कार्यक्रममा सहभागी शिक्षकहरुलाई वडाको तर्फबाट शैक्षिक सामग्री राख्ने झोला समेत वितरण गरिएको थियो । वडाध्यक्ष बेलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत वडासदस्य याम नारायण चापागाईले गर्नु भएको थियो भने संचालन वडा सचिब गायत्री चापागाईले गर्नु भएको थियो ।

May be an image of 6 people

May be an image of 7 people, people studying and dais

May be an image of 6 people, people studying and text

May be an image of 6 people

May be an image of 6 people, people studying and text

May be an image of 7 people and hospital

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *