देशको अर्थतन्त्र सङ्कटमा, सबैजसो सूचक ऋणात्मक

काठमाण्डाै – अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । मूल्य वृद्धि पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चितिमा पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा

आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँ घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षमा घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार देशको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले घाटामा थियो ।

भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी विनिमय सञ्चिति पनि घटेको छ । चालु आर्थिक वर्षको सुरुवातमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब तीन करोड रुपैयाँमा सीमित भएको छ ।

पाँच महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । मङ्सिर मसान्तसम्म वस्तु निर्यात १०५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने आयात ५९ दशमलव पाँच प्रतिशतले बढेर आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *