पर्वत ।
जिल्लामा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा रहेका मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको कुस्मा नगर भित्रका विभिन्न पाँच वटा आयोजनाबाट २० वटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा आठ वटामा इ.कोली देखिएको छ भने बाँकी १२ वटा नमूनामा खान योग्य देखिएको छ ।
मोदीका नौ वटा आयोजनाको ३५ वटा नमूनामध्ये नौ वटामा इ.कोली भेटिएको छ भने बाँकी २६ वटा खान योग्य पाइएको छ । जलजला गाउँपालिकाका ७ वटा आयोजनाबाट २३ वटा नमुना सङ्कलन गरिएकोमा ७ वटा पानीको नमुनामा इ.कोली देखिएको छ भने बाँकी १६ वटा खान योग्य पाइएको छ ।
फलेवास नगरपालिका भित्रका विभिन्न १५ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका आठ वटामा इ.कोली देखिएको छ भने बाँकी ७ वटा खान योग्य पाईएको छ ।
यसैगरी विहादी गाउँपालिका भित्रका १८ वटा श्रोतको पानी परीक्षण गर्दा १० वटामा इ.कोली देखिएको छ भने बाँकी ८ वटा खान योग्य पाईएको छ । पैंयुँ गाउँपालिकामा पुगेर २७ वटा श्रोतको पानी परीक्षण गर्दा १५ वटामा इ.कोलीको मात्रा देखिएको छ भने बाँकी १२ वटा पिउन योग्य पाईएको छ ।
महाशिला गाउँपालिकाका १७ वटा श्रोतको पानी परिक्षण गर्दा सात वटामा इ.कोली भेटिएको छ भने बाँकी १० वटा श्रोतको पानी पिउन योग्य रहेको भेटिएको छ ।
झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने हुन्छ ।
इ.कोलीयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउँछ । यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनु पर्ने हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउन कार्यालयले अनुरोध गरेको छ ।