सहकारीका ऋणीहरूलाई तोकिएको समयमा ऋण चुक्ता गर्न मोदी गाउँ पालिकाको आग्रह, अटेर गरे कारबाही हुने

मोदी, पर्वत ।

मोदी गाउँपालिकाले सोमबार एक सूचना प्रकाशित गरी सहकारीका ऋणीहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय पातीचौर, पर्वतमा दर्ता भइ सेवा सञ्चालन गरिरहेका सहकारी संस्थाहरुबाट सहकारी ऐन, नियमावली र संस्थाको स्वीकृत विनियम, कार्ययोजना एवं ऋणनीति बमोजिम संस्थामा आवद्ध शेयर सदस्यहरुले नियमानुसार ऋण लगि तोकिएको समयावधिभित्र साँवा, ब्याज र हर्जना समेत भुक्तानी नगर्दा बचत कर्ताको बचत फिर्ता गर्न रकम अभाव हुने जनाएको छ ।

लामो समयसम्म ऋण चुक्ता हुन नसक्दा समग्र सहकारी संघ संस्था एवं सहकारी अभियान प्रति नै सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुमा नकारात्मक सन्देश प्रवाह भई सिंगो सहकारी क्षेत्र नै बदनाम हुन सक्ने खतरा देखिएको सूचनामा उल्लेख गरिएको छ ।

मोदी गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सहकारी संस्थाहरुबाट सहकारी ऐन , नियमावली र संस्थाको स्वीकृत ऋणनीति बमोजिम ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरुले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार आफैँले लगेको ऋणको साँवा, ब्याज र हर्जाना समेत चुक्ता गर्न सूचित गरेको हो ।

सहकारी संस्थाहरुबाट लगेको ऋण तोकिएको समयमा चुक्ता नगरी अटेर गरेमा प्रचलित सहकारी ऐन तथा नियमावली र संस्थाको स्वीकृत विनियम बमोजिम कार्वाही हुने गाउँ पालिकाको सहकारी शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *