पर्वतमा लागू औषधसहित दुई जना व्यक्ति पक्राउ

पर्वत।

पर्वतमा लागू औषध गाँजा, चरेस र भारी मात्रामा ‘आलो मासु’ सहित दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दीको राम्चेबाट पोखराका लागि छुटेको ग ३ च ६१५४ नम्बरको पिकअप जीपलाई जलजला गाउँपालिका–३, पानीट्यांकी क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–८, सानोगाउँका ४२ वर्षीय युवराज गर्बुजा र ४६ वर्षीय सवारी चालक देउबहादुर पुर्जा पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबका अनुसार जीपको डाला मुनि लुकाएर राखिएको ११ केजी सात सय ४५ ग्राम गाँजा, दुई सय ६० ग्राम चरेस र झण्डै एक सय सात केजी टुक्रा तथा लहरो बनाइएको आलो मासु बरामद भएको छ ।

पक्राउ परेका दुवैलाई लागु औषध शीर्षकमा जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । बरामद भएको शंकास्पद मासु (गोरुको हुनसक्ने अनुमान) बारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *