पर्वत ।
जिल्लाको कुश्मा नगरपालिकामा रहेको पर्वत जिल्ला अस्पतालमा शैया निःशुल्क हुने भएको छ । अस्पतालले एक सार्वजनिक सुचना जारी गर्दै जनरल शैया सहित सम्पूर्ण शैया वापतको शुल्क नलाग्ने जानकारी गराएको हो । अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार कार्तिक महिनाबाट विरामीले प्रयोग गर्ने बेड(शैया) वापतको शुल्न नलाग्ने भएको हो । यस अघि विरामी उपचारका लागि भर्ना हुँदा बेड चार्ज वापतको शुल्क लाग्ने गरेको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी भन्छन् विरामीको सेवालाई जनमुखी र प्रभावकारी बनाउनका लागि अस्पतालले उक्त निर्णय गरेको हो । अध्यक्ष गिरीले दिएको जानकारी अनुसार १५ शैयाको स्वीकृति रहेको अस्पतालमा २०७९ सालदेखि ४१ शैया थप गरी हाल ५६ शैया सञ्चालनमा रहेको छ ।
अस्पतालमा नयाँ भवनको निर्माण, अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था र विशेषज्ञ डाक्टरले उपचार गर्न थालेपछि त्यहाँ आउने विरामीको संख्यामा बृद्धि हुन थालेकोे स्थानीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो।

