पर्वत ।
पोखराको तेर्सापट्टी स्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ देउपुर घर भइ हाल पोखरा ५, मालेपाटन बस्दै आएका १३ वर्षीय दिपेश शर्मा रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता ज्ञान बहादुर खड्काले जानकारी दिए।
शनिबार अन्दाजी दिउँसो ४ बजेको समयमा तेर्सापट्टी स्थित चन्द्र मथुरा (सीएम) स्विमिङ पुलमा पौडी खेल्ने क्रममा गहिराईतर्फ जाँदा डुबेर किशोरको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। आमा र भाइसँगै पौडी खेल्न गएका उनी एक्कासी डुबेको खड्काले बताए ।
उनी डुबेको केही समयपछि मात्र थाहा भएपछि तत्काल उद्धार गरी उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
हाल घटनाबारे अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।