पर्वत लगायतका देशका विभिन्न स्थानमा मध्यम देखि भारी वर्षा

पर्वत ।

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पर्वत, दार्चुला, डोटी, अछाम, बाँके, दाङ र जाजरकोटमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्वतको पन्चासे र वरपरका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । सो क्षेत्र भएर बहने खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै अछामको कैलाश नदी जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले त्यस नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 यस्तै जाजरकोटको जाजरकोट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको भएकाले त्यस क्षेत्र भइ बहने स–साना खोलाहरुमा बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले सावधानी अपनाउन भनेको छ ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *